काठमाडौं । चालु आर्थिक वर्षको १० महिनासम्म करिब १२ खर्ब विप्रेषण भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको वैशाखसम्मको विवरणअनुसार सो अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भए रु ११ खर्ब ९८ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भई ९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या ३ लाख ७४ हजार ८८७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ३७ हजार ८९३ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४ लाख २१ हजार २७९ र दुई लाख ३८ हजार ९७६ थियो ।