लघुवित्तको सेयर मूल्य ६ महिनामै साढे ३ गुणासम्म बढ्यो, किन आउँदै छ उछाल ?

काठमाडौं । पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरूको सेयर मूल्यमा उछाल आएको छ । समग्रमा नेप्से परिसूचक बढ्न नसके पनि लघुवित्त उपसमूहको सेयर मूल्यमा उच्च वृद्धि भएको हो ।

पछिल्लो ६ महिनामै लघुवित्त उपसमूहको परिसूचक ४३ प्रतिशतले बढेको छ । गत मंसिर २१ गते ३२५६ रहेको लघुवित्तको परिसूचक बिहीबार ४६५६ अंकको पुग्यो । यो पछिल्लो डेढ वर्ष यताकै उच्च हो । यस अवधिमा लघुवित्तको परिसूचक १४०० अंकले बढेको छ ।

समग्र लघुवित्त समूहमै उछाल आउँदा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । यस अवधिमा लघुवित्त कम्पनीको सेयर मूल्य साढे ३ गुणासम्मले बढेको छ । मंसिरमा मुस्किलले एकदर्जन लघुवित्तको सेयर मूल्य १ हजार रुपैयाँ रहेकोमा अहिले २ दर्जन लघुवित्तको सेयर मूल्य १ हजार माथि छ भने ३ वटाको २ हजार माथि पुगेको छ ।

मंसिरमा १ दर्जन बढी लघुवित्तको सेयर मूल्य ५०० रुपैयाँ हाराहारीमा रहेकोमा अहिले अधिकांशको ७०० रुपैयाँ माथि पुगेको छ ।

६ महिनाको अवधिमा गुराँस लघुवित्तको सेयर मूल्य सर्वाधिक २२२५ प्रतिशतले बढेको छ । गत मंसिरमा प्रतिकित्ता ५९० रुपैयाँ रहेको यस आइतबार १९०० रुपैयाँ पुगेको छ । यस अवधिको गुराँसको सेयर मूल्य प्रतिकित्ता १३१० रुपैयाँ अर्थात् २२२ प्रतिशतले बढेको छ ।

त्यसैगरी, यही अवधिमा उन्नति सहकार्य लघुवित्तको पनि सेयर मूल्य तेब्बरले बढेको छ । मंसिरमा प्रतिकित्ता ६०७ रुपैयाँ रहेको उन्नतिको सेयर भाउ अहिले १९६१ रुपैयाँ पुगेको छ । हिमालयन लघुवित्तको सेयर मूल्य अढाई गुणा अर्थात् प्रतिकित्ता ५३९ रुपैयाँबाट बढेर १३१० रुपैयाँ पुगेको छ ।

त्यस्तै, ६ महिनाको अवधिमा १ दर्जन लघुवित्तको सेयर मूल्य दोब्बरले बढेको छ । यस अवधिमा मनकामना स्मार्ट, उपकार, आरम्भ चौतारी, इन्फिनिटी, सामुदायिक, श्रृजनशील, लक्ष्मी, मिथिला लघुवित्तको सेयर मूल्य दोब्बरले बढेको छ । त्यस्तै, नाडेप, विजय, अभियान, समता घरेलु, जनउत्थान लगायत लघुवित्तको सेयर मूल्य ६० प्रतिशतभन्दा धेरैले बढेको छ ।

नेप्सेमा हाल ५३ लघुवित्त सूचीकृत छन् । जसमा आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सबैभन्दा महँगो प्रतिकित्ता २३५५ रुपैयाँ र फर्स्ट माइक्रोफाइनान्सको ६७० रुपैयाँ रहेको छ ।

किन बढ्दै छ लघुवित्तको सेयरमा आकर्षण ?

लघुवित्तहरूको सेयर मूल्य बढ्नुमा मुख्य ३ कारण देखिन्छन् । सेयर मूल्य निकै सस्तो हुनु, वित्तीय अवस्थमा सुधार आउनु र सेयर संख्या थोरै भएकाले चलखेल हुँदा छोटो समयमै लघुवित्तको सेयर मूल्यमा उछाल आएको हो ।

पछिल्लो समय लघुवित्तहरूको सेयर मूल्य २ वर्ष यताकै सस्तो भएको थियो । लाभांश वितरणमा राष्ट्र बैंकको कडाइ र समग्र सेयर बजारमा आएको गिरावटका कारण लघुवित्तहरूको सेयर मूल्य निकै सस्तो भएको थियो । विगतमा ५ हजार माथिसम्म पुगेका लघुवित्तको सेयर १ हजार हाराहारीमा आएको थियो । आगामी दिनमा सेयर बजारले गति लिने अपेक्षा र मूल्य निकै सस्तो भएकाले लगानीकर्ताहरूले धमाधम लघुवित्तको सेयर किन्न थालेका हुन् । विगतमा महँगोमा सेयर किनेकाले सस्तोमा सेयर किनेर एभरेजिङ गर्न थालेका छन् । जसले मूल्य ह्वात्तै बढेको हो ।

पछिल्लो समय राष्ट्र बैंकले लघुवित्त संस्थाहरू माथि लगाएको अंकुश क्रमशः हटाउँदै लगेको छ । विगतमा बम्पर लाभांश दिँदै आएका लघुवित्तहरूले आगामी दिनमा पनि उच्च लाभांश दिनसक्ने भएकाले लगानीकर्ता सेयरमा आकर्षित हुन थालेका छन् ।

लघुवित्तको सेयर मूल्य बढ्नुको अर्को कारण हो वित्तीय अवस्थामा सुधार आउनु । गत वर्ष लघुवित्त विरुद्धको अराजक आन्दोलन र अर्थतन्त्रमा आएको मन्दीका लघुवित्त व्यवसाय चौपट बनेको थियो । आम्दानी गर्न नसक्दा २ दर्जन लघुवित्त घाटामा थिए भने ऋण असुली नहुँदा खराब कर्जा अचाक्ली बढेको थियो ।

तर, चालु आवको चैतसम्म आइपुग्दा अधिकांश लघुवित्तको नाफामा उल्लेख्य सुधार आएको छ । राष्ट्र बैंकले दिएको कर्जा पुनर्तालिकीकरण/पुनर्संरचनाको सुविधा र अर्थतन्त्रमा आएको सुधारका कारण कर्जा असुली रिकभरी हुन थालेको छ । खराब कर्जा घटेको छ भने बैंकको ब्इाजदर पनि घट्दो क्रममा छ । जसकारण समग्र लघुवित्त व्यवसायमा सुधार देखिएको छ । व्यवसायमा सुधार आएसँगै आगामी दिनमा नाफा बढ्ने र लाभांश दिने आसमा लगानीकर्ता लघुवित्तको सेयरमा आकर्षित भएका हुन् ।

लघुवित्तको सेयर मूल्य बढ्नुको अर्को कारण हो सेयर संख्या कम हुनु । नेप्सेमा सूचीकृत १३ समूहका कम्पनी मध्ये लघुवित्त तुलनात्मक रुपमा सबैभन्दा कम चुक्ता पूँजी हुने कम्पनीमा पर्छन् । सेयर संख्या कम हुँदा आपूर्तिभन्दा माग धेरै हुँदा मूल्य बढेको हो । यद्यपि, केही लघुवित्तको सेयर मूल्य भने कर्नरिङ गरी उचालिएको पाइन्छ ।

चालु आवको कात्तिकदेखि लगातार ब्याजदर घट्दो क्रममा छ । राष्ट्र बैंकले सेयर बजारमा लगाएको नीतिगत अंकुशहरू क्रमशः हटाउँदै लगेको छ । अर्थतन्त्रमा क्रमशः सुधारका संकेत देखिन थालेका छन् । जसकारण आगामी दिनमा बजारले गति लिने आसमा लगानीकर्ताले सेयर किन्न थालेको देखिन्छ ।

काठमाडौं महानगरले विद्यालयले भाडामा दिएका ६१ सटरमा ताला लगायो Read Previous

काठमाडौं महानगरले विद्यालयले भाडामा दिएका ६१ सटरमा ताला लगायो

अर्थतन्त्रलाई सही दिशा प्रदान गर्न अनुशासनको खाँचो छ : पूर्वअर्थमन्त्री डा. महत Read Next

अर्थतन्त्रलाई सही दिशा प्रदान गर्न अनुशासनको खाँचो छ : पूर्वअर्थमन्त्री डा. महत