झण्डै ४ हजार मेगावाट विद्युत् प्रवाह गर्ने ४०० केभी क्षमताको पूर्वाधार तयार

काठमाडौं । झण्डै ४ हजार मेगावाट विद्युत् प्रवाह गर्ने क्षमता भएको ४०० केभी क्षमताको हेटौँडा सबस्टेसन निर्माण सम्पन्न भएको छ ।

देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङमा सो सबस्टेशन निर्माण भएको हो ।

ग्यास इन्सुलेटेड प्रणाली (जीआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो चार सय केभी हेटौँडा सबस्टेसन निर्माण सम्पन्न गरी शुक्रबार साँझदेखि सञ्चालन (चार्ज)मा ल्याइएको छ । यसैगरी, नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्याङमा नै २२० र १३२/११ केभी क्षमताका सबस्टेसन निर्माण सम्पन्न गरी शुक्रबार नै चार्ज गरिएको छ ।

मुलुकभित्रको पूर्व–पश्चिम विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माण गरिएको जिआइएस प्रविधियुक्त स्वचालित ढल्केबर मुलुककै पहिलो, इनरुवा दोस्रो र हेटौँडा तेस्रो ठूलो सबस्टेसन हो ।

हेटौँडा सबस्टेसनको निर्माण सम्पन्न भएसँगै करिब चार हजार मेगावाट विद्युत् प्रवाह गर्नसक्ने पूर्वाधार संरचना तयार भएको छ । हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएपछि ढल्केबरबाट पूर्व–पश्चिम पनि ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने हुँदा आन्तरिकरुपमा विद्युत् आपूर्ति थप सुदृढ हुने र भारतसँगको विद्युत् व्यापार थप विस्तार हुनेछ ।

आयोजनाअन्तर्गत ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न हुनै लागेको छ । हेटौँडा–ढल्केबर खण्ड निर्माणाधीन छ । हेटौँडा उपमहानगरपालिकका १५, १६, १७ र ११ नम्बर वडामा स्थानीयको अवरोधका कारण प्रसारण लाइन निर्माण सम्पन्न हुन सकिरहेको छैन । अवरोध नभएका ठाउँमा निर्माण भइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हेटौँडा सबस्टेसनबाट स्थानीयरुपमा पनि विद्युत् आपूर्ति गरिने हुँदा हेटौँडा, भरतपुर, सिमरा तथा वीरगञ्ज क्षेत्रको विद्युत् आपूर्तिलाई थप भरपर्दो र गुणस्तरीय बनाउन सहयोग पुग्ने बताए ।

कार्यकारी निर्देशक घिसिङले भने, ‘नेपालका मध्य क्षेत्रका नदी करिडोरका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा प्रवाह गरी देशभित्र खपत गरी बचत भएको विद्युत् हेटौँडा–ढल्केबर चार सय केभी प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गर्न थप सहज हुने छ, सबस्टेसनले हेटौँडाबाट भरतपुर बर्दघाट हुँदै नयाँ बुटवल सबस्टेसनसम्म विद्युत् प्रवाहका लागि सहजता प्रदान गर्नेछ ।’

हेटौँडा सबस्टेसनलाई आवश्यकताअनुसार भविष्यमा थप विस्तार गर्दै जान मिल्ने गरी निर्माण गरिएको आयोजना प्रमुख शुक्र देवकोटाले बताए । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बाट नुवाकोटको रातमाटेबाट निर्माण हुने चार सय केभीको डबल सर्किट प्रसारण लाइन हेटौँडा सबस्टेसनमा ल्याएर जोडिनेछ । यसका लागि हेटौँडा सबस्टेसनमा आवश्यक पूर्वाधार संरचना निर्माण गरिसकिएको आयोजना प्रमुख देवकोटाले उल्लेख गरे ।

राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत सरकार र प्राधिकरणको संयुक्त लगानीमा हेटौँडा, ढल्केबर इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजना सुरु गरिएको थियो । आयोजनाअन्तर्गतका तीनवटै सबस्टेसन निर्माण सम्पन्न भएका छन् । हेटौँडा सबस्टेसन निर्माणका लागि डिसेम्बर २०१८ ठेक्का सम्झौता गएिको थियो ।

सरकार तथा प्राधिकरणको लगानी र विश्वबैंकको सहुलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट निर्माण गरिएको २२०, १३२ र ११ केभी हेटौंडा सवस्टेसन निर्माणका लागि डिसेम्बर २०१८ मा ठेक्का सम्झौता भएको थियो । सो सबस्टेसनको अनुमानित लागत रु ३ अर्ब रहेको छ ।

विश्वव्यापी फैलिएको कोरोना महामारी र त्यसको नियन्त्रण तथा रोकथामका लागि लागू गरिएको बन्दाबन्दीले निर्माण प्रभावित भएको थियो । कोरोना महामारीका कारणले सबस्टेसन जडान हुने विभिन्न उपकरणहरु र प्राविधिक पूर्वनिर्धारित समयमा नै आयोजनास्थलसम्म आई नपुगेको तथा अन्य कारणले आयोजनाको निर्माणमा केही ढिलाइ भएको थियो ।

कर्णाली नदीमा पुल नहुँदा राष्ट्रिय सडक सञ्जालसँग अझै जोडिएन सिमकोट Read Previous

कर्णाली नदीमा पुल नहुँदा राष्ट्रिय सडक सञ्जालसँग अझै जोडिएन सिमकोट

मोदीको सपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल आज भारत जाँदै Read Next

मोदीको सपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल आज भारत जाँदै