विश्वभर धनाढ्यको संख्या बढ्दै, ‘उच्च नेटवर्थ’ भएका व्यक्ति एक वर्षमै ५.१% बढे

काठमाडौं । अस्थिरताका बाबजूद विश्वभर उच्च नेटवर्थ भएका व्यक्तिहरू (हाई नेटवर्थ इन्डिभिजुअल्स–एचएनडब्ल्यूआई)को संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

फ्रान्सको बहुराष्ट्रिय परामर्श कम्पनी ‘केपजेमिनि’ को सार्वजनिक गरेको ‘वल्र्ड वेल्थ रिपोर्ट २०२४’ अनुसार सन् २०२३ मा विश्वभर उच्च नेटवर्थ भएका व्यक्तिहरूको संख्या ५.१५ प्रतिशतले बढेको हो ।

प्रतिवेदनका अनुसार विश्वभर उच्च नेटवर्थ भएका व्यक्तिको संख्या २ करोड २८ लाख पुगेको छ । यो हालसम्मकै उच्च हो ।

उच्च नेटवर्थ भएका व्यक्तिहरू (हाई नेटवर्थ इन्डिभिजुअलस्) भनेर कम्तीमा १० लाख अमेरिकी डलर (१३ करोड ३१ लाख रुपैयाँ) नेटवर्थ भएका व्यक्तिलाई चिनिन्छ ।

रिपोर्ट अनुसार सन् २०२३ मा हाई नेटवर्थ भएका व्यक्तिहरूको संख्या रेकर्ड उच्च विन्दुमा पुगेको हो । यस्ता व्यक्तिहरूले सेयर बजारमा गरेको लगानी आकाशिएपछि उनीहरूको सम्पति पनि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

सन् २०२३ मा हाई नेटवर्थ भएका व्यक्तिहरूको सम्पति समग्रमा ४.७ प्रतिशतले बढेर ८६८ खर्ब डलर पुगेको छ । सन् २०२३ मा मात्रै उनीहरूको सम्पति ३८ खर्ब डलरले बढेको छ ।

उच्च नेटवर्थ भएका व्यक्तिहरूको संख्या र उनीहरूको कुल सम्पति केपजेमिनिले सन् १९९७ मा वार्षिक रिपोर्ट प्रकाशन गर्न थालेयताकै सबैभन्दा उच्च हो ।

यस वर्ष सबैभन्दा धेरै सम्पत्ति उत्तर अमेरिकीनहरूको बढेको छ । सन् २०२३ मा उत्तरु अमेरिकनको सम्पत्ति ७.२ प्रतिशतले बढेको छ भने उच्च नेटवर्थ हुने व्यक्तिको संख्या ७.१ प्रतिशतले बढेको छ ।

त्यस्तै, एशिया प्यासिफिकमा उच्च नेटवर्थ भएका व्यक्तिको संख्या ४.८ प्रतिशत र सम्पत्ति ४.२ प्रतिशतले बढेको छ । त्यसैगरी, युरोपमा नेटवर्थ ३.९ प्रतिशत र व्यक्तिको संख्या ४ प्रतितश, ल्याटिन अमेरिकामा सम्पत्ति २.३ प्रतिशत र व्यक्तिको संख्या २.९ प्रतिशत र मध्यपूर्वमा सम्पत्ति २.७ प्रतिशत र व्यक्तिको संख्या २.१ प्रतिशतले बढेको छ ।

विश्वका अन्य सबै क्षेत्रका व्यक्तिको नेटवर्थ र संख्या बढ्दा अफ्रिामा भने घटेको छ । अफ्रिकामा सन् २०२३ मा नेटवर्थ १ प्रतिशत र व्यत्तिःको संख्या ०.१ प्रतिशतले घटेको छ । वस्तुहरूको मूल्यमा गिरावट आउँदा र विदेशी लगानी घट्दा अफ्रिकनहरूको नेटवर्थ घटेको प्रतिवेदनमा उल्लेख छ ।

केपजेमिनिले विश्व सम्पत्ति विवरणमा विश्वका ७१ देशलाई समेटको छ । जसले विश्वव्यापी कुल राष्ट्रिय आयको ९८ प्रतिशतभन्दा बढी र विश्व पूँजी बजारको ९९ प्रतिशत समेट्दछ ।

४८ अर्बमा गण्डकीमा १५०० किलोमिटर सडक स्तरोन्नति Read Previous

४८ अर्बमा गण्डकीमा १५०० किलोमिटर सडक स्तरोन्नति

एप्पललाई पछि पार्दै एनभिडिया बन्यो विश्वको दोस्रो ठूलो कम्पनी Read Next

एप्पललाई पछि पार्दै एनभिडिया बन्यो विश्वको दोस्रो ठूलो कम्पनी