काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्र भित्र पर्ने सबै अस्पताललाई आफ्नै फार्मेसी (औषधि पसल) संचालन गर्न निर्देशन दिएको छ ।
महानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै महानगर भित्र संचालित सबै अस्पताललाई १५ दिन भित्र आफ्नै फार्मेसी संचालन राख्न निर्देशन दिएको हो ।
महानगरले आफ्नो क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरूको आफ्नो स्वामित्वमा फार्मेसी सञ्चालन नभएको, अन्य व्यक्तिहरूलाई फार्मेसी सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरू गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको, चर्को मूल्यमा औषधि तथा औषधिजन्य सामग्रीहरू बिक्री भइरहेको गुनासो आएको भन्दै १५ दिन भित्रै आफ्नै फार्मेसी संचालन गर्न निर्देशन दिएको हो ।
सर्वोच्च अदालतले २०७४ असोज २ गते सबै अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न आदेश दिएको थियो । तर, अधिकांश अस्पतालले आफैं फार्मेसी संचालन नगरी अन्य व्यक्तिहरूलाई फार्मेसी सञ्चालन गर्न दिइरहेका छन् ।