बजारमा माग घटेपनि ६ अर्ब लगानीमा ५ नयाँ स्टील उद्योग थपिदै
गिता भुजेल
प्रकाशित : 7:45 am, आइतबार, मंसिर २९, २०७६

काठमाडौं । नेपालमा ५ अर्ब ७६ करोड ४१ लाख रुपैयाँ लगानीमा नयाँ स्टील उद्योगहरु सञ्चालनमा आउने भएका छन् । उक्त लगानीमा विभिन्न स्थानमा ५ वटा स्टील उद्योग सञ्चालनमा आउन लागेका हुन् ।

 

उद्योग विभागको तथ्यांक अनुसार सो उद्योगहरु चालु आर्थिक वर्षको ४ महिनामा दर्ता भएका हुन् । पर्सामा ३ वटा, झापा र कपिलवस्तुमा एक–एक गरी ५ वटा नयाँ उद्योग दर्ता भएका हुन् ।

 

देशमा लगानीको बृद्धि हुनु सुखद कुरा भए पनि पछिल्लो समयमा छाएको आर्थिक सुस्तताको कारणले स्टिल लगायत अन्य निर्माण सामग्रीको ब्यापार भने सुस्ताएको छ ।

 

पर्सा जिल्लाको विरगंजमा एलाइड स्टील्स, हिमाल असीम स्टील र विजय रोशन स्टील इण्डस्ट्रिज स्थापना गर्ने तयारी भएको हो ।
यस्तै झापाको विर्तामोडमा पाथिभरा स्टील उद्योग निर्माण हुने भएको छ भने कपिलबस्तुमा दुर्गा लक्ष्मी स्टील्स निर्माणको तयारी भइरहेको छ ।

 

विरगंजमा ३ स्टील उद्योग

 

एलाइड स्टील्स पर्सा जिल्लाको विरगञ्ज महानगरको वडा नम्बर २३ मा स्थापना गर्ने भनिएको छ । उक्त उद्योग १६ करोड ६४ लाख रुपैयाँ लगानीमा बन्न लागेको हो । सो उद्योग सञ्चालनमा आएपछि २९ जनाले रोजगार पाउने अनुमान गरिएको छ ।

 

यस्तै वीरगंज महानगरपालिकाको ३२ नम्बर वडामा हिमाल असीम स्टील इण्डस्ट्रिज स्थापना गर्ने भनिएको छ । ४ अर्ब ९४ करोड ४० लाख रुपैयाँ लगानीमा बन्न लागेको सो स्टील उद्योग सञ्चालनमा आएपछि ५ सय ५० जनाले रोजगारी पाउन सक्ने छन् ।

 

विरगंज महानगरको वडा नम्बर २५ मा अर्को विजय रोशन स्टील एण्डस्ट्रिज निर्माण हुने भएको छ । उक्त स्टील उद्योग २२ करोड ३५ लाख रुपैयाँ लगानीमा बन्न लागेको हो । उक्त उद्योग सञ्चालन पश्चात ४५ जनाले रोजगारको अवसर समेत पाउने छन् ।

 

झापामा पाथिभरा स्टील एण्डस्ट्रिज नामको उद्योग बन्ने भएको छ । झापाको बिर्तामोड नगरपालिकाको वडा नम्बर २ मा उक्त उद्योग सञ्चालनमा ल्याइन लागेको हो । सो उद्योग १९ करोड १९ लाख रुपैयाँ लगानीमा बन्न लागेको छ । सञ्चालनमा आएपछि उक्त उद्योगले १ सय २३ जनालाई रोजगार दिने बताइएको छ ।

 

यस्तै, कपिलवस्तुमा दुर्गा लक्ष्मी स्टिल्स उद्योग निर्माण हुने भएको छ । कपिलवस्तुको शिवराज नगरपालिकाको वडा नम्बर १० मा सञ्चालनमा आउन लागेको उक्त उद्योग २३ करोड ८१ लाख लगानीमा बन्न लागेको हो । सो उद्योग सञ्चालन पछि ९० जनाले रोजगारी पाउने छन् ।

 

देशमा लगानीको बृद्धि हुनु सुखद कुरा भए पनि पछिल्लो समयमा छाएको आर्थिक सुस्तताको कारणले स्टिल लगायत अन्य निर्माण सामग्रीको ब्यापार भने सुस्ताएको छ ।

 

लामो समयदेखि सिमेन्ट तथा स्टील उद्योगमा लगानी गर्दै आएका उद्योगी पशुपति मुरारका अहिले नयाँ उद्योग आउने अवस्था नरहेको बताउँछन् ।

 

‘नयाँ उद्योग आउन बजारमा माग हुनुपर्छ, अहिले बजार अघिल्लो वर्षको तुलनामा घटेको छ, पुराना उद्योगले प्रतिस्पर्धाको कारण मूल्य कम गरेका छन् । यस्तोमा नयाँ उद्योगले कसरी प्रतिस्पर्धा गर्नसक्छन्’ मुरारकाले चाणक्य पोष्टसँग भने ।

 

त्यस्तै निर्माण सामग्री  उत्पादनमा लामो समयदेखि काम गर्दै आएका पञ्चकन्या समूहका प्रदिपकुमार श्रेष्ठ पनि अहिले सिमेन्ट र स्टीलमा निकै धेरै प्रतिस्पर्धा रहेको बताउँछन् ।

 

‘अत्याधिक उत्पादन र मागमा आएको कमीले भएका स्टील उद्योग समस्यामा परिरहेका छन् । यस्तोमा नयाँ उद्योग आउनु भनेको अझ कठिन अवस्था ल्याउनु हो । तर, कसैले लगानी गर्छु भन्छ भने नगर त भन्नु भएन’, श्रेष्ठले चाणक्य पोष्टसँग भने ।

 

मुरारका र श्रेष्ठको भनाईलाई आधार मान्ने हो भने नेपालमा स्टील उद्योग ल्याउनु अघि लगानीकर्ताले सम्भावित बजार, प्रतिस्पर्धी कम्पनी, जडीत उत्पादन क्षमता लगायतका विषयमा बुझनु पर्ने हुन्छ ।