काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्ने बित्तिकै आएका प्रतिक्रियाहरूबाट आफू सर्प्राइज भएको बताएका छन् । बजेट सन्तुलन र व्यवहारिक आएको भन्दै निजी क्षेत्र अरू विज्ञ तथा राजनीति पार्टी र तिनका नेताहरूले समेत तारिफ गरेकाले आफू साँच्चै सर्प्राइज भएको बताए ।
बिहीबार नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले बजेटले केही करका दर वृद्धि गरेकाले स्वार्थ समूह निजी क्षेत्रले मन दुखाए पनि सकेसम्म सन्तुलित र सर्वस्वीकार्य बजेट बनाएको दाबी गरे ।
‘बजेट अलिअलि आलोचना त आउनुपर्छ भन्ने लागेको थियो । केही ठाउँबाट आलोचना पनि आयो । त्यसमा पनि म खुशी नै छु,’ उनले भने, ‘तर, अझै धेरै आलोचना आउन अधिकांशले बजेट सन्तुलीत नै आएको प्रतिक्रिया दिएका छन् । त्यसबाट म आफै सरप्रराइज भएको छ । म आफैलाई पनि तथ्यमा आधारित भएर नै बजेट आएको जस्तो लाग्छ ।’
उनले सबै मन्त्रालय र निकायहरुको मिहीनेत र सरोकारवालाहरुको सुझावका आधारमा यस्तो बजेट ल्याउन सफल भएको बताए ।
साथै, ‘बजेट के हुने हो? सांसदबाटै आउने हो कि अध्यादेशमा जाने हो? ठुलो चिन्ता थियो । तर, सांसदबाटै ल्याउन पाइयो । खुसी कुरो हो । बजेट सांसदभन्दा बाहिरबाट ल्याउने कुरा राम्रो थिएन । यसमा प्रधानमन्त्री ज्यूले ठुलो कसरत गर्नुभयो र वातावरण सहज भयो । यसका लागि म प्रधानमन्त्री ज्यूलाई र सम्पूर्ण राजनीतिक पार्टीहरूलाई धन्यवाद दिन चाहन्छु ’ अर्थमन्त्री पुनले भने ।
बजेटले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्ने गरी एकीकृत गरिएको अर्थमन्त्री पुनले बताए ।