कुन सिमेन्टको सेयर किन्दा बढी फाइदा ?

काठमाडौं । नेपाली सेयर बजारमा बैंक तथा वित्तीय संस्थाहरूकै वर्चश्व रहेको छ । नेप्सेमा सूचीकृत १३ क्षेत्रका कम्पनीहरूमा बैंक तथा वित्तीय संस्था र जलविद्युत् क्षेत्रको हिस्सा करिब ८० प्रतिशत छ । वास्तविक क्षेत्र (रियल सेक्टर)को हिस्सा अति न्यून छ ।

विश्व सेयर बजारमा रियल सेक्टर क्षेत्रका कम्पनीलाई सेयर बजारको खम्बाको रूपमा लिइन्छ । तर, नेपालमा भने नगन्य मात्र सूचीकृत छ । हाल नेप्सेमा सूचीकृत २७२ कम्पनीमध्ये मुस्किलले २ दर्जन कम्पनी मात्रै रियल सेक्टरका छन् । त्यसमा पनि उत्पादनमूलक क्षेत्रका कम्पनी ८ वटा मात्रै कारोबारमा छन् ।

सेयर बजारमा उत्पादनमूलक क्षेत्रका कम्पनीको सेयरमा उच्च आकर्षण देखिन्छ । अन्य क्षेत्रका कम्पनीको तुलनामा यस क्षेत्रका कम्पनीको सेयर संख्या तुलानात्मक रूपमा कम हुने र वर्षेनी लाभांश दिने भएकाले लगानीकर्ता आकर्षित हुने गरेका छन् । यद्यपि, सबै उत्पादनमूक कम्पनीले लाभांश दिन्छन् नै भन्ने चाहिँ छैन ।

पछिल्लो समय सेयर बजारमा सिमेन्ट कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिन्छ । नेप्सेमा हाल ४ वटा सिमेन्ट कम्पनी शिवम्, सर्वोत्तम, घोराही र सोनापुर सिमेन्ट सूचीकृत छन् ।

शिवम् ५ वर्ष अघि सूचीकृत भएको हो भने सर्वोत्तम, घोराही र सोनापुर चालु वर्षमा मात्र सेयर बजारमा आएका हुन् । विगतमा शिवम् सिमेन्ट सेयर बजारको ‘हटकेक स्क्रिप्ट’ समेत बनेको थियो । प्रतिकित्ता मूल्य २ हजार रुपैयाँ हाराहारी पुगेको थियो । कारोबारमा आउने बित्तिकै अन्य सिमेन्ट कम्पनीको सेयरमा उच्च आकर्षण देखिएको थियो ।

सिमेन्ट कम्पनीहरूले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार सर्वोत्तम बाहेक अरू सिमेन्ट कम्पनीको नाफामा भारी गिरावट आएको छ । शिवम्को नाफा ६२ प्रतिशतले घटेको छ भने घोराही र सोनापुर घाटामा छन् ।

सेयर लगानीकर्ताको रोजाइमा रहेका चारै सिमेन्ट कम्पनीको चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणका आधारमा कुन अब्बल भनेर यहाँ तुलनात्मक समीक्षा गरेका छौं ।

चुक्ता पूँजी : चुक्ता पूँजीका आधारमा शिवम सबैभन्दा ठूलो रहेको छ । हाल शिवको चुक्ता पूँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ रहेको छ । सर्वोत्तमको ४ अर्ब ६५ करोड र घोराहीको ४ अर्ब ५६ करोड रुपैयाँ छ । सोनापुरको सबैभन्दा कम ३ अर्ब ३ करोड रुपैयाँ छ ।

रिटेन्ड अर्निङ तथा जगेडा कोष : जगेडा कोषका आधारमा सर्वोत्तम बलियो रहेको छ । यसको रिटेन्ड अर्निङ तथा जगेडा कोषको आकार चुक्ता पूँजीभन्दा धेरै अर्थात् ५ अर्ब २४ करोड रुपैयाँ छ । रिटेन्ड अर्निङ र जगेडामा सेयर प्रिमियम कोष जोड्दा भने घोराहीको धेरै हुन्छ । घोराहीको सेयर प्रिमियममा २ अर्ब ६५ करोड र सरप्लस तथा जगेडा कोषमा २ अर्ब ८४ करोड गरी कुल ५ अर्ब ५० करोड संचिति छ ।

त्यस्तै, शिवम् सिमेन्टको सेयर प्रिमियमा ९५ करोड ६२ लाख र अन्य जगेडा कोषमा ३ अर्ब ४७ करोड गरी कुल रिजर्भमा ४ अर्ब ४३ करोड रुपैयाँ संचित । जगेडा कोषका आधारमा सोनापुर भने निकै कमजोर देखिएको छ । सोनापुरको सेयर प्रिमियम र जगेडा कोषमा गरी कुल २ अर्ब १७ करोड रुपैयाँ मात्रै संचित छ ।

संचालन आम्दानी : संचालन आम्दानीमा पनि शिवम् अगाडि रहेको छ । चालु आवको ९ महिनामा शिवमको संचालन आम्दानी ५ अर्ब ९९ करोड रुपैयाँ छ । यही अवधिमा यस्तो आम्दानी सर्वोत्तमको ४ अर्ब ५५ करोड, घोराही ३ अर्ब ८ करोड र सोनापुरको १ अर्ब १७ करोड रुपैयाँ छ ।

ओपीसी सिमेन्ट मात्रै उत्पादन गर्दै आएको शिवम्ले ओपीसी र पीपीसी दुवै सिमेन्ट उत्पादन गर्दै आएका घोराही, सर्वोत्तम र सोनापुरलाई व्यापारमा निकै पछि पारेको छ ।

अन्य आम्दानी : गत वर्षको तुलनामा अन्य आम्दानी चारै कम्पनीको घटेको छ । अर्थतन्त्रमा आएको मन्दीका कारण यी कम्पनीको लगानी रहेका अन्य कम्पनीबाट प्राप्त हुने लाभांश घट्दा अन्य आम्दानी घटेको हो । समीक्षा अवधिमा अन्य आम्दानी पनि शिवम्कै धेरै छ । चैतसम्म शिवम्ले १७ करोड ३४ लाख रुपैयाँ अन्य आम्दानी गरेको छ भने सर्वोत्ताले ३ करोड ८ लाख, घोराहीले १ करोड ३२ लाख र सोनापुरको ४३ लाख छ ।

खुद नाफा : समीक्षा अवधिमा शिवम् र सवोत्तम सिमेन्ट नाफामा छन् भने घोराही र सोनापुर घाटामा छन् । चैतसम्म शिवम्ले सबैभन्दा धेरै २० करोड ४२ लाख रुपैयाँ र सर्वोत्तमले १२ करोड ७ लाख रुपैयाँ नाफा कमाएको छ । यही अवधिमा घोराही सिमेन्ट ६४ करोड २५ लाख र सोनापुर २७ करोड ८० लाख रुपैयाँ नोक्सानीमा छन् । शिवम र सर्वोत्तमको तुलनामा घोराही र सोनापुरको व्यापार कम र खर्च धेरै हुँदा दुवै घाटामा गएका हुन् ।

प्रतिसेयर आम्दानी : सेयर लगानीकर्ताले चासोमा साथ हेर्ने प्रतिसेयर आम्दानीमा पनि शिवम् नै अघि रहेको छ । समीक्षा अवधिमा शिवम्को प्रतिसेयर आम्दानी ५.४२ रुपैयाँ छ । त्यस्तै, सर्वोत्तमको ३.४६ रुपैयाँ भने सोनापुर र घोराही क्रमशः १२.०७ रुपैयाँ र १४.०७ रुपैयाँ ऋणात्मक छ ।

नेटवर्थ प्रतिसेयर : नेटवर्थमा भने घोराही अघि रहेको छ । समीक्षा अवधिमा घोराहीको नेटवर्थ २२०.२५ रुपैयाँ छ । सर्वोत्तमको २१२.७३ रुपैयाँ, शिवम्को १८८.१९ रुपैयाँ र सोनापुरको १७०.७३ रुपैयाँ छ ।

ऋण : समीक्षा अवधिमा सबैभन्दा धेरै ऋण घोराहीको रहेको छ । यस अवधिमा घोराहीको दीर्घकालीन ६ अर्ब १७ करोड र अल्पकालीन ३ अर्ब ८३ करोड गरी कुल १० अर्ब १ करोड रुपैयाँ ऋण रहको छ ।

त्यस्तै, सोनापुरको ३ अर्ब ४७ करोड दीर्घकालीन र १ अर्ब ८८ करोड अल्पकालीन गरी कुल ५ अर्ब ५३ करोड रुपैयाँ ऋण तिर्न बाँकी छ । अन्यको तुलनामा शिवम्को भने ऋण थोरै छ । चैतसम्म शिवम् तिर्न बाँकी दीर्घकालीन ऋण ५३ लाख ६४ हजार र अल्पकाली ७० करोड १८ लाख गरी कुल ७० करोड ७२ लाख रुपैयाँ मात्रै छ । सर्वोत्तमको पनि सोनापुर र घोराहीको तुलनामा ऋण निकै कम छ ।

निष्कर्ष : वासलतका अधिकांश सूचकमा आधारमा शिवम् शिमेन्ट बलियो देखिएको छ भने सर्वोत्तमले शिवम्लाई पछ्याइरहेको छ । सोनापुर र घोराहीले तिर्नुपर्ने ऋण धेरै रहेकाले आगामी दिनमा पनि दायित्व बढ्ने हुँदा नाफा प्रभावित हुने देखिन्छ । शिवम् र सर्वोत्तमको ऋण कम भएकाले वित्तीय दायित्व कम छ ।

शिवम्ले आइपीओ जारी गरेदेखि वर्षेनी लाभांश दिँदै आएको छ । सर्वोत्तम र घोराहीले यस वर्ष १५/१५ प्रतिशत लाभांश दिए भने सोनापुरले सेयरधनीको हात रित्तै बनायो । आगामी वर्ष लाभांश बाँड्न सक्ने क्षमता सर्वोत्तम, घोराही र शिवम् तीनै वटाको उच्च छ । सोनापुरले भने थोरै मात्र लाभांश बाँड्न सक्छ ।

दोस्रो बजारमा कारोबारका लागि शिवम्को तुलनामा सर्वोत्तम, घोराही र सोनापुरको सेयर आपूर्ति कम छ । शिवम्को प्रमोटरको सेयर लकिङ खुलिसकेकाले सूचीकृत सबै सेयर कारोबार योग्य छ । घोराही, सर्वोत्तम र सोनापुरको संस्थापक सेयर अझै २ वर्ष बढी लकिङमै रहन्छ । सेयर संख्या कम भएकाले शिवम्को तुलनामा अरू सिमेन्टको सेयर मूल्यमा चलखेल हुनसक्ने सम्भावना पनि देखिन्छ ।

आधारभूत वित्तीय सूचकमा शिवम् र सर्वोत्तम बलियो देखिन्छन् । तर, नेपाली सेयर बजारका कम्पनीहरू वित्तीय सूचकका आधारमा भन्दा पनि हल्ला र चलखेलका आधारमा मूल्य बढ्ने गरेका दृष्टान्त छन् । यस्तोमा लगानीकर्ताले वित्तीय अवस्था बलियो रहेको कम्पनीको सेयरमा लगानी गर्ने कि लहडकोपछि लागेर कमजोर कम्पनीमा जोखिम मोल्ने भन्ने आफैंले विचार गर्नुपर्छ ।

 

पेट्रोल र डिजेलमा कर लगाएर उठाइएको साढे १९ अर्ब खर्च हुन सकेन Read Previous

पेट्रोल र डिजेलमा कर लगाएर उठाइएको साढे १९ अर्ब खर्च हुन सकेन

आर्थिकमन्दीको असर, रुपन्देहीमा २०७ उद्योग बन्द Read Next

आर्थिकमन्दीको असर, रुपन्देहीमा २०७ उद्योग बन्द