काठमाडौं । नेपालमा सोयाबीन दूध उत्पादन गर्न वैदेशिक लगानी प्रस्ताव आएको छ । अमेरिकी एक कम्पनीले सोयाबीन दूध, तथा जुस उत्पादन उद्योग सञ्चालनमा ल्याउन प्रस्ताव गरेको हो ।
उद्योग सञ्चालनका लागि अमेरिकी कम्पनीले ८ करोड ४० लाख ५३ हजार रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएको छ । उक्त उद्योग ललितपुरमा सञ्चालन गर्न प्रस्ताव माग गरिएको हो । उक्त उद्योग सञ्चालनमा आएपछि १ सय ३० जनाले रोजगार पाउने अनुमान गरिएको छ ।चालू वर्षको मंसिरसम्ममा २ वटा कम्पनीले कृषि क्षेत्रमा २० करोड वैदेशिक लगानीको प्रस्ताव गरेका छन् ।
कृषि तथा पशुपंक्षी मन्त्रालयका प्रवक्ता हरिबहादुर केसी सोयाबीनको दूध उत्पादन उद्योगका लागि आएको वैदेशिक लगानी प्रस्तावप्रति आफू अनविज्ञ भएको बताउँछन् । यस विषयमा आफूलाई जानकारी नभएको र कृषि उत्पादनमा वैदेशिक लगानी प्रावधानमा नरहेको उनले बताए ।
‘अहिले दूध उद्योग खोल्नु पर्ने कुनै आवश्यता छैन, हामीले अमुललाई त उद्योग खोल्न दिएनौँ र फर्कायौँ,’ केसीले चाणक्य पोष्टसँग भने ।
भारतीय दूध उद्योग अमुल नेपालमा आउने चर्चाले दूध उद्योगी त्रासित भएका थिए भने पूर्व कृषिमन्त्री चक्रपाणी खनालले नेपालमा दूध उत्पादन गर्ने उद्योग मात्र नभई पाउडर दूध समेत आयात गर्न रोक लगाएका थिए ।
यस्तै दूग्ध व्यवसायी सन्जीव झा सोया दूधले प्राकृतिक उत्पादन हुने दूधमा खासै असर नपर्ने बताउँछन् । उनका अनुसार यस्ता दूध भारतमा हरेक ठाउँमा मार्केटमा राखिने गरेको छ ।
उनले विगतमा अमुल दूधले प्राकृतिक दूध नै ल्याएर उत्पादन गर्ने भनेकाले यहाँको दूग्ध व्यवसाय तथा कृषकमा असन्तुष्टि भएको तर, यो कुनै प्राकृतिक नभएर भटमासबाट बन्ने दूध भएकाले यसले नेपाली दूग्ध क्षेत्रमा केही असर नपर्ने बताए ।
दूध उत्पादनकाे अवस्था
नेपालमा दैनिक ५ देखि ६ लाख लिटर दूधको माग हुने गरेको छ । दैनिक ५० हजार लिटरसम्म दूध उत्पादन हुने गर्छ । नेपालभर वार्षिक ४३ लाख लिटर बढी दूध उत्पादन हुने गरेको छ ।
प्रदेश १ मा वार्षिक ३ लाख ४८ हजार लिटर, प्रदेश २ मा ११ लाख लिटर, प्रदेश ३ मा १८ लाख लिटर, प्रदेश ४ मा ८ लाख लिटर, प्रदेश ५ मा २ लाख १५ हजार लिटर, प्रदेश ६ मा ४ लाख लिटर र प्रदेश ७ मा १ लाख लिटर दूध उत्पादन हुने गरेका छन् ।
नेपालमा दूध उद्योग
नेपाल भर कूल १ हजार ५ सय ७२ बढि घरेलु, साना तथा मझौला र ठूला दूध उद्योगहरु रहेका छन् । प्रदेश १ मा २ सय ९७ वटा दूध उद्योगहरु रहेका छन् । प्रदेश २ मा १ सय ३० उद्योग रहेका छन् । प्रदेश ३ मा सबैभन्दा बढी ६ सय ७० बढि दूध उद्योगहरु रहेका छन् ।
प्रदेश ४ मा १ सय ६१, प्रदेश ५ मा ६५, प्रदेश ६ मा १ सय ५० र प्रदेश ७ मा १ सय ९० वटा दूध उद्योगहरु रहेका छन् ।