काठमाडौं । नेपालका सात प्रदेशमध्ये बागमती प्रदेशमा बसोबास गर्नेको आम्दानी सबैभन्दा धेरै रहेको छ । केन्द्रीय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।
कार्यालयको तथ्यांक अनुसार चालु वर्षमा बागमती प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (प्रतिव्यक्ति कमाइ) २ हजार ४८४ अमेरिकी डलर अर्थात् ३ लाख ३१ हजार रुपैयाँ अनुमान गरिएको छ । यो सात प्रदेशमा बसोबास गर्ने नेपालीको आयमध्ये सबैभन्दा धेरै हो ।
बागमतीमा बसोबास गर्नेले नेपालीको औसत आयभन्दा १ हजार २८ डलर अर्थात् १ लाख ३७ हजार रुपैयाँ धेरै कमाउछन् । कार्यालयका अनुसार नेपालीको वार्षिक आम्दानी औसतमा १ हजार ४५६ डलर अर्थात करिब १ लाख ९५ हजार रुपैयाँ छ ।
नेपालीहरूको औसत प्रतिमहिना आम्दानी १६ हजार रुपैयाँ हाराहारीम छ भने बागमतीमा बसोबास गर्नेले मासिक २७ हजार रुपैयाँ कमाउँछन् ।
संघीय राजधानी समेत रहेको बागमतीमा अन्य प्रदेशको तुलनामा वित्तीय कारोबार, व्यापारिक तथा औद्योगिक गतिविधि धेरै हुने भएकाले यस प्रदेशमा कस्नेको कमाइ धेरै भएको हो । साथै, सरकारले गर्ने खर्च पनि यही प्रदेशमा धेरै हुँदा प्रतिव्यक्ति आम्दानी बढाउन सहयोग पुर्याएको छ ।
पछिल्ला वर्षहरूमा नेपालीको प्रतिव्यक्ति आम्दानी क्रमशः बढ्दै गएको देखिन्छ । गत वर्षको तुलनामा चालु आवमा नेपालीहरूको औसत प्रतिव्यक्ति आय भने ५७ डलर अर्थात् ७ हजार ६०० रुपैयाँले बढेकाे छ ।
कुन प्रदेशमा बस्नेले कति कमाउँछन् ?
सबै प्रदेशमा बस्ने नेपालीहरूको औसत आम्दानी समान छैन । बागमती र गण्डकीमा बस्नेको आम्दानी औसतभन्दा धेरै छ भने अरु ५ प्रदेशमा बस्नेको औसतभन्दा कम छ ।

मधेसमा बस्नेको तुलनामा बागमतीमा बस्ने झन्डै तेब्बर कमाउछन् । मधेसमा बस्नेले यस वर्ष सात प्रदेशमध्ये सबैभन्दा कम ८९२ डलर अर्थात् करिब १ लाख २९ हजार रुपैयाँ मात्रै कमाइ हुने कार्यालयको अनुमान छ ।
मधेश प्रदेशमा जनसंख्या धेरै हुनु र यहाँका अधिकांश व्यक्ति कृषिमा आश्रित रहेकाले आम्दानी सबैभन्दा कम हुने गरेको हो ।
गण्डकीमा बस्नेले दोस्रो धेरै १ हजार ५५७ डलल (करिब २ लाख ८ हजार रुपैयाँ कमाउने प्रक्षेपण गरिएको छ । त्यस्तै, चालु वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन कोशी प्रदेशको १ हजार ३३६ डलर ( १ लाख ७८ हजार रुपैयाँ), लुम्बिनी प्रदेशको १ हजार १५९ डलर ( करिब १ लाख ५५ हजार रुपैयाँ) हुने अनुमान छ ।
भौतिक विकासको दृष्टिकोणले सबैभन्दा पीछडिएको कर्णाली प्रदेशका बासिन्दाले औसतमा १ हजार ६६ डलर (१ लाख ४२ हजार रुपैयाँ) र सुदूरपश्चिम प्रदेशकाले १ हजार १११ डलर (१ लाख ४८ हजार रुपैयाँ) आम्दानी गर्ने कार्यालयले जनाएको छ ।
केन्द्रीय तथ्याङ्क कार्यालयले प्रतिव्यक्ति आयजस्तै हरेक प्रदेशको कुल गार्हस्थ्य उत्पादनलाई उक्त प्रदेशको कुल जनसङ्ख्याले भाग गरेर उक्त प्रदेशका मानिसहरूले हरेक वर्ष कति कमाउछन् भन्ने तथ्यांक निकाल्छ ।