काठमाडौं । सेयर बजारले बुलिस ट्रेन्ड समात्ने संकेत देखाएको छ । लामो समयदेखि वियरिस ट्रेन्डमा रहेको बजार गत सातादेखि लगातार उकालो लागिरहेको छ ।
बजार निरन्तर उकालो लागेको आज आठौं दिन हो भने लगातार दोहोरो अंकले बढेको दोस्रो दिन हो । यस अवधिमा सूचक करिब ६२ अंकले बढेको छ । यस्तै कारोबार रकममा पनि दिनदिनै बढोत्तरी आइरहेको छ ।
औसतमा २५ करोड कारोबार हुँदै आएको बजारमा पछिल्लो समय दैनिक आधा अर्बभन्दा बढीको कारोबार हुँदै आएको छ । आज कारोबारमा २१ करोडको बढोत्तरी आई करिब साढे ७६ करोड रुपैयाँको कारोबार भएको छ ।
बजारले गति लिँदै गएपछि लगानीकर्ता थप उत्साहित र आशावादी बन्दै गएका छन् । लगानीकर्ताको मनोबल बढ्दै गएकाले बजारमा सेयरको मागसँगै कारोबार पनि बढेको छ ।
सेयर बजार मापक सूचक नेप्से आज पनि दोहोरो अंकले बढेको छ । बजार सूचक ११.१७ अंकले बढेर ११७२.६४ विन्दुमा पुगेको छ । आज १६८ कम्पनीको ७६ करोड ४० लाख २५ हजार २१३ रुपैयाँ बराबरको कारोबार भएको छ । २१ लाख २ हजार ६१ कित्ता सेयर किन बेच भएका छन् ।
कारोबार भएका १२ वटा समूहमध्येमा सात समूहको सूचक उकालो लागेका छन् भने पाँच समूहको सूचक ओरालो लागेका छन् । आज निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ३३२.०४ अंकले बढेको छ भने उत्पादनमूलक समूह ४४.९८ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा स्वाबलम्वन लघुवित्त वित्तीय संस्थाको प्रमोटर सेयर शीर्ष स्थानमा रह्यो । यसको ८ करोड २८ लाख ५२ हजार ३१ रुपैयाँको कारोबार भएको छ ।
आज दश वटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेका छन् । सर्किट लागेका अधिकांश कम्पनी बीमा क्षेत्रका रहेका छन् । आज गुँरास लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ४.७७ प्रतिशतले घटेको छ ।