१० महिनामा सरकारले गर्यो आम्दानीभन्दा २ खर्ब बढी खर्च

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ मा सरकारलाई राजस्व संकलनमा धक्का लागेको छ । चालु वर्षको १० महिना (वैशाखसम्म) सरकारले वार्षिक लक्ष्यको ५८.२ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । चालु आवमा १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ रुपैयाँ बराबर राजस्व उठाउने लक्ष्य रहेकोमा वैशाख मसान्तसम्ममा रु ८ खर्ब ५७ अर्ब २ करोड ८० लाख रुपैयाँ मात्र असुली भएको छ ।

महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्म कर राजस्वतर्फ रु १३ खर्ब ५ अर्ब ४७ करोड ९६ लाख बराबरको वार्षिक लक्ष्य रहेकोमा हालसम्म ५७.२१ प्रतिशत अर्थात् रु सात खर्ब ४६ अर्ब ८३ करोड २८ लाख बराबर उठेको छ ।

त्यस्तै, गैरकर राजस्वतर्फ रु एक खर्ब १७ अर्ब ६ करोड २१ लाख बराबर लक्ष्य रहेकोमा ७२.७ प्रतिशत अर्थात् रु ८५ अर्ब १० करोड चार लाख बराबर असुली भएको छ ।

त्यस्तै, रु ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान लिने सरकारी लक्ष्य रहेकोमा हालसम्म लक्ष्यको ५.५२ प्रतिशत अर्थात् रु २ अर्ब ७५ करोड ८० लाख बराबर अनुदान लिइएको छ ।

वैशाखसम्म सरकारले आम्दानीभन्दा २ खर्ब धेरै खर्च गरेको छ । वैशाखसम्म वार्षिक विनियोजनको ६०.३५ प्रतिशत अर्थात् रु १० खर्ब ५६ अर्ब ८९ लाख २४ हजार बराबर खर्च भएको जनाएको छ ।  सरकारले चालु आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो ।

वैशाख मसान्तसम्ममा चालुगततर्फ वार्षिक विनियोजनको ६५.९१ प्रतिशत खर्च भएको छ । चालु शीर्षकमा रु ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर वार्षिक विनियोजन भएकोमा हालसम्म रु सात खर्ब ५२ अर्ब ५५ करोड ७३ लाख बराबर खर्च भएको छ ।

पूँजीगत शीर्षकमा रु तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख बराबर वार्षिक विनियोनज भएकोमा वैशाख मसान्तसम्म वार्षिक लक्ष्यको ३७.०४ प्रतिशत अर्थात् रु एक खर्ब ११ अर्ब ८८ करोड २९ हजार बराबर खर्च भएको छ ।

त्यसैगरी, वित्तीय व्यवस्था शीर्षकमा ६२.६ प्रतिशत खर्च भएको छ । यो शीर्षकमा रु ३ खर्ब सात अर्ब ४५ करोड ३६ लाख बराबर विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा रु एक खर्ब ९२ अर्ब ४५ लाख २२ हजार बराबर खर्च भएको हो ।

सो अवधिको कुल सरकारी राजस्व सङ्कलन वार्षिक लक्ष्यको ५८.२ प्रतिशत छ । चालु आवमा रु १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ बराबर राजस्व उठाउने लक्ष्य रहेकोमा वैशाख मसान्तसम्ममा रु ८ खर्ब ५७ अर्ब दुई करोड ८० लाख बराबर असुली भएको छ ।

 

राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत Read Previous

राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

अनलाइनबाट विदेशी मुद्रा भुक्तानीको व्यवस्था गरिने Read Next

अनलाइनबाट विदेशी मुद्रा भुक्तानीको व्यवस्था गरिने