कामिरिता २९औँ पटक सगरमाथाको चुचुरोमा, तोडे आफ्नै रेकर्ड

काठमाडौं । आरोही कामिरिता शेर्पाले आज बिहान २९औँ पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेका छन् । उनले वसन्त ऋतुको जारी आरोहणमा कामिरिताले सगरमाथाको सफल आरोहण गर्दै आफ्नै नाममा रहेको कीर्तिमान तोडेका हुन् ।

पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार कामिरिताले आज बिहान सगरमाथाको चुचुरोमा २९औँ पटक पाइला टेकेर विश्व कीर्तिमान बनाएका हुन् । उनका अनुसार यस यामको आरोहण सुरु भएयता आजसम्म ७० भन्दा बढीले सगरमाथा आरोहण गरेका छन् । सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शक छन् ।

सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका कामिरिताका नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । सगरमाथा आरोहणका ७१ वर्षे इतिहासमा सर्वाधिक आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामिरिता शेर्पा छन् । अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका छन् ।

यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहण गत शुक्रबारदेखि सुरु भएको थियो । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले शुक्रबार बेलुका सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । ‘सगरमाथा हिमालचुलीको शिखरसम्म मिली बाटो निर्माण (रोप फिक्सिङ) गर्ने काम सम्पन्न भएसँगै टोलीमा संलग्न १० जना आरोहीबाट सगरमाथाको यस सिजनको पहिलो आरोहण सम्पन्न भएको थियो ।

विभागको पर्वतारोहण शाखाका अनुसार यो याममा सगरमाथा आरोहण गर्न ४१ आरोही समूहका ७५ महिला र ३३९ पुरुषसहित चार सय १४ जनाले अनुमति लिएका छन् । अझै एक/दुई टोली बढ्नसक्ने विभागले अनुमान गरेको छ ।

काठमाडौंका आधा सहकारीले अद्यावधिक गरेनन् विवरण, कारबाही गर्दै महानगर Read Previous

काठमाडौंका आधा सहकारीले अद्यावधिक गरेनन् विवरण, कारबाही गर्दै महानगर

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरू भएन Read Next

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरू भएन