ग्वार्को फ्लाइओभर निर्माण असार भित्रै सकिने, यसरी हुँदैछ काम (फोटोफिचर)

काठमाडौं । ललितपुरको ग्वार्कोमा निर्माणाधीन नेपालकै पहिलो फ्लाइओभर आगामी असार मसान्त भित्रै सम्पन्न गर्नेगरी तीव्र गतिमा काम भइरहको छ ।

ठेक्का सम्झौता अनुसार फ्लाइओभर निर्माण गत फागुनमै सम्पन्न हुनुपर्थ्यो । तर, डिजाइनमा त्रुटि भेटिएपछि पुनः डिजाइन गरी अहिले धमाधम काम भइरहेको हो ।

फ्लाइओभर निर्माण कम्पनी आशिष समानान्तर रेलिगेयर जेभीका अनुसार हालसम्म आयोजनाको समग्रमा ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । अबको २ महिनाभित्र बाँकी सबै काम सक्ने लक्ष्य राखिएको कम्पनीका प्रोजेक्ट म्यानेजर कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।    ‘ब्रिजको ९० प्रतिशत काम सकिएको छ । अब १ महिना भित्र पूरै सकिन्छ । ब्रिजमा जान रोडको काम ५० प्रतिशत सकिएको छ । सबै गरेर ७० प्रतिशत काम भएको छ । बाँकी ३० प्रतिशतकाम अबको २ महिना भित्र सक्ने योजना छ,’ उनले भने ।

वर्षाले बाधा नगरे यो काम असार भित्र सकिने प्रोजेक्ट मेनेजर श्रेष्ठको भनाइ छ । अहिले स्लोप बनाउने, पर्खाल लगाउने, ढलान गर्ने, फिनिसिङ गर्ने लगायतका काम बाँकी रहेको उनी बताउँछन् ।

यस आयोजना निर्माणको काम २०८० फागुन १२ गतेभित्र सकिसक्नु पर्ने थियो । तर, उक्त अवधिमा काम नसकिएपछि १० महिना म्याद थप गर्न भनेका छौं,’ श्रेष्ठले भने ।

फ्लाइओभरको डिजाइनमा त्रुटि हुँदा केही समय मुख्य निर्माणको काम रोकिएको थियो । फ्लाइओभर निर्माण स्थलको माटो कमजोर भएका कारण डिजाइन नै परिवर्तन गर्नु परेको हो ।

उपत्यकाको जाम न्यूनीकरण गर्न भन्दै २०७९ मंसिर १६ गतेदेखि निर्माण सुरू गरिएको फ्लाइओभर १६ महिना भित्र निर्माण सक्ने लक्ष्य राखिएको थियो ।

ग्वार्को चोकबाट बीएण्डबी अस्पतालतर्फ १८५ मिटर लामो स्लोप बनाइँदै छ । त्यस्तै बालकुमारीतर्फबाट ३२० मिटर लामो अर्को स्लोप बन्नेछ । बीचमा ३५ मिटर लामो ओभरहेड ब्रिज बन्छ ।

सडक विभागले २०७८ सालमा फ्लाइओभर निर्माण ठेक्का लगाएर डिजाइनको जिम्मा दिएको थियो । उक्त फ्लाइओभर १७ करोड ६ लाख रुपैयाँमा ठेक्का लागेको हो ।

नेपालको एलओडी बन्यो विश्वकै ५०औं उत्कृष्ट नाइट क्लब Read Previous

नेपालको एलओडी बन्यो विश्वकै ५०औं उत्कृष्ट नाइट क्लब

पक्राउ परेका व्यक्ति अस्पताल बस्ने क्रम बढेपछि गृहको कडाइ, अब सिफारिस अनिवार्य Read Next

पक्राउ परेका व्यक्ति अस्पताल बस्ने क्रम बढेपछि गृहको कडाइ, अब सिफारिस अनिवार्य