काठमाडौं । सेयर बजारमा लागातार दोहोरो अंकको गिरावट आएको छ । आइतबार एकैदिन २४ अंकले घटेको नेप्से आज पनि १५ अंकले घटेको हो ।
सोमबार नेप्से परिसूचक १५.६२ अंकले घटेर १९५८.७५ विन्दुमा आइपुगेको छ । सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७६ करोडले घटेर २ अर्ब ८९ करोड रुपैयाँमा सीमित भएको छ ।
यसदिन ३१० कम्पनीका ६९ लाख ७८ हजार ३२१ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये विकास बैंक बाहेक अरु सबैको परिसूचक घटेको छ । माइक्रोफाइनान्स समूहको परिसूचक सर्वाधिक १.८१ प्रतिशतले घटेको छ ।
आज सिटिजन लाइफकोे सर्वाधिक कारोबार भएको छ । आजै २८.४ प्रतिशत लाभांश घोषणा गरेको यस कम्पनीको ३१ करोड ९८ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
आज ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७७ कम्पनीको घटेको छ । घट्दो बजारमा आज बोटलर्स नेपाल तराईको सेयर मूल्य सर्वाधिक ९.०३ प्रतिशतले बढेको छ ।
दोल्ती पावर र पोखरा फाइनान्सका लगानीकर्ताले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।