दुबईद्वारा विश्वकै सबैभन्दा ठूलो विमानस्थल टर्मिनल निर्माण सुरू

दुबई । अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम सुरु भएको दुबईले आइतबार घोषणा गरेको छ । संयुक्त अरब इमिरेट्सका शासकले करिब ३५ अर्ब डलरको लागतमा बन्ने उक्त टर्मिनल ‘विश्वको सबैभन्दा ठूलो’ टर्मिनल हुने बताए ।

दुबईका शासक तथा संयुक्त अरब इमिरेट्सका प्रधानमन्त्री शेख मोहम्मद बिन राशिद अल मकतुमले सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘हामीले मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ यात्री टर्मिनको डिजाइनलाई स्वीकृति दिएका छौँ, १ खर्ब २८ अर्ब एईडी (३४ अर्ब ८५ करोड अमेरिकी डलर) को लागतमा भवनको निर्माण सुरु भइरहेको छ ।’

एक पटक पूर्णरूपमा सञ्चालन भएपछि विमानस्थलले ‘वार्षिक २६ करोड यात्री क्षमताको व्यवस्थापन गर्ने’ सरकारले एक विज्ञप्तिमा जनाएको छ ।

शेख मोहम्मदका अनुसार विमानस्थल ‘विश्वको सबैभन्दा बढी क्षमता’ को हुनेछ र ‘हालको दुबई अन्तर्राष्ट्रिय विमानस्थलको आकारको पाँच गुणा हुनेछ ।’ दुबई अन्तर्राष्ट्रिय विमानस्थल विश्वको सबैभन्दा व्यस्त विमानस्थलमध्येको एक हो ।

दुबई नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष एवं ध्वजावाहक इमिरेट्सका प्रमुख कार्यकारी (सीईओ) शेख अहमद बिन सइद अल मकतुमका अनुसार परियोजनाको पहिलो चरण १० वर्षको अवधिमा तयार हुनेछ र यसमा वार्षिक १५ करोड यात्रीहरूलाई समायोजन गर्ने क्षमता हुनेछ ।

सहरको बाहिरी भागमा निर्मित अल मकतुम विमानस्थलले सन् २०१० देखि खाडी वित्तीय केन्द्रको हवाई ट्राफिकको अपेक्षाकृत सानो हिस्सा प्राप्त गरेको छ । अधिकारीहरूले उक्त विमानस्थलले दुबई अन्तर्राष्ट्रिय विमानस्थलको स्थान लेओस् भन्ने चाहेका छन् । दुबई अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक क्षमता १२ करोड यात्रीसम्म रहेको छ । सहरको केन्द्रमा रहेकाले उक्त विमानस्थलको विस्तार हुन सकेको छैन ।

लगानी सम्मेलन : वर्ल्ड एसोसिएसन अफ पीपीपी र नाप बीच सहकार्य गर्ने समझदारी Read Previous

लगानी सम्मेलन : वर्ल्ड एसोसिएसन अफ पीपीपी र नाप बीच सहकार्य गर्ने समझदारी

चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन दुई वटा समझदारी Read Next

चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन दुई वटा समझदारी