काठमाडौं । यही वैशाख १६ र १७ गते हुने तेस्रो लगानी सम्मलेनमा तीन वटा केबलकार योजना प्रस्तुत गरिने भएको छ । सरकारकाे तर्फबाट एक र निजी क्षेत्रबाट दुई वटा गरी जम्मा ३ वटा केबलकार आयोजना प्रस्तुत गरिने भएको हो ।
सरकारको तर्फबाट बेथानचोक नारायणथान दर्शन केबलकार र निजी क्षेत्रको तर्फबाट सिक्लेस अन्नपूर्ण केबलकार परियोजना र जालपादेवी केबलकार परियोजना लगानी सम्मेलनमा प्रस्तुत गरिने भएको हो ।
केबलकारमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले लगानी सम्मेलनमा प्रस्तुत गर्न लागिएको हो । नेपालमा पछिल्लो समय केबलकार निर्माणमा लगानीकर्ताको आकर्षण बढ्दो छ । धार्मिक र पर्यटकीय गन्तव्यहरुमा धमाधम केबलकार आयोजना अघि बढिरहेका छन् । हाल देशभर ६ वटा केबलकार संचालनमा छन् भने करिब १ दर्जन निर्माण प्रक्रियामा रहेका छन् ।
तेस्रो लगानी सम्मेलनमा १५१ परियोजना प्रस्तुत गरिने भएको छ । जसमा यातायात क्षेत्रका १९, खानी तथा खनिजजन्य क्षेत्रका १३, पर्यटन क्षेत्रका १३, कृषिका १४, उत्पादन क्षेत्रका ५, औद्योगिक पूर्वाधार तथा व्यापारसम्बन्धी सात, स्वास्थ्य तथा शिक्षा क्षेत्रका तीन, सञ्चार तथा सूचना प्रविधि क्षेत्रका दुई, पानी आपूर्तिका चार र सहरी विकास क्षेत्रका ६ वटा परियोजना छन् । त्यस्तै, निजी क्षेत्रको तर्फबाट ३१ आयोजना प्रस्तुत गरिँदै छ ।