आंशिक सञ्चालनमा आयो बन्दीपुर केबलकार

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार आंशिक रुपमा सञ्चालनमा आएको छ । विगत ५ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको केबलकार नयाँवर्षसँगै आंशिक रुपमा सञ्चालनमा आएको हो ।

बन्दीपुर गाउँपालिका-४ स्थित केबलकार चोकमा रहेको बटम स्टेशनको ५६ रोपनी क्षेत्रफलमा फैलिएको ‘टुरिष्ट पाकर्’ र अन्तर्राष्ट्रियस्तरको अत्यधुनिक रेष्टुरेण्ट सर्वसाधारणका लागि व्यावसायिक रुपमा खुल्ला गरिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।

सोही अवसरमा बन्दीपुर केबलकारको विधिवत पूजापाठ गरी शुभारम्भ गरिएको छ । हालका लागि केबलकार आन्तरिक प्रयोजनका लागि प्रयोग गर्ने गरी मात्र सञ्चालन गरिने उनले बताए। सर्वसाधारणका लागि चाँडै नै मिति घोषणा हुने कम्पनीका इन्जिनियर सुप्रियो मण्डलले जानकारी दिए ।

परियोजनाअन्तर्गत टुरिष्ट पार्क र रेष्टुरेण्ट भने पूर्ण रुपमा खुला गरिएको छ । मनमोहक टुरिष्ट पार्कमा आकर्षक गेटसँगै चट्टानमा नै बनेको शिव मन्दिर, गणेश स्वरुप छ भने फुटपाथ माथि ३३ देवी देवताको मूर्ति बनाइएको कम्पनीका उपाध्यक्ष किरण पोखरेलले जानकारी दिए ।

आकर्षक उल्लुको मूर्ति, भगवान बुद्धको मूर्ति, सूर्यनारायण भगवानको वायुयान, विशाल कैलाश पर्वत र भगवान शिवजीको प्रकट रुप, भगवान विश्वकर्माको मूर्ति साथै जङ्गली जनावरहरुको म्युजियम, हात्ती, गैँडा, जिराफ, जेब्रा, जरायो, बाघ लगायतका आकर्षक मूर्ति, स्थानीय घर र दैनिक प्रयोग हुने सामग्रीहरुको म्युजियम रहेको छ ।

अत्यन्तै आकर्षक दाबी गरिएको यो टुरिष्ट पार्क रु ८६ करोडको लागतमा तयार भएको वित्तीय निर्देशक शिवप्रसाद शर्माले जानकारी दिए । यस पार्कमा प्रवेश गर्नका लागि प्रतिव्यक्ति रु २००, मोटरसाइकल रु ३००, ट्याक्सी रु ५००, माइक्रो रु १ हजार र ठूला बसका लागि रु १ हजार ५०० मूल्य तोकिएको छ । तर कम्पनीले अफरको रुपमा जतिको टिकट छ त्यो बराबरको नै रेष्टुरेण्टमा सेवा लिन सक्ने गरी गिफ्ट भौचर दिने रेष्टुरेष्ट म्यानेजर प्रकाश श्रेष्ठले बताए ।

परियोजनाअन्तर्गत पाँचतारे होटल, नवीन टावर, स्काई डाइनिङ, फ्लाई डाइनिङ, स्काई वार, हेल्थ क्लव, ग्राउण्ड डाइनिङ, एक हजार क्षमताको हल, स्काइ वाल्क, एज वाल्क, ग्लास वाक थु्र, जीप लाइन लगायतका पूर्वाधार अगाडि बढाएको छ । जसको कूल लागत रु ६ अर्ब २९ करोड पुग्ने जनाइएको छ । सबै पूर्वाधार आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने दाबी गरिएको छ ।

अरुण भ्याली हाइड्रोपावरको २० लाख कित्ता सेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति ? Read Previous

अरुण भ्याली हाइड्रोपावरको २० लाख कित्ता सेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति ?

विश्व बैंक र मुद्रा कोष बैठकमा भाग लिन अर्थमन्त्री पुन अमेरिका प्रस्थान Read Next

विश्व बैंक र मुद्रा कोष बैठकमा भाग लिन अर्थमन्त्री पुन अमेरिका प्रस्थान