काठमाडौं । संयुक्त अधिराज्यको माथिल्लो सदन ‘हाउस अफ लर्डस्’ का सदस्य स्टीवार्ट उडले नेपालको सामाजिक रूपान्तरणका लागि बेलायती विकास सहयोग बढाउन प्रयास गर्ने बताएका छन् ।
‘भीएसओ’ नेपालको निमन्त्रणामा विशिष्ट स्वयंसेवकका रुपमा आठ दिनका लागि नेपाल आएका उडले महिला शिक्षा तथा लिङ्गका आधारमा गरिने विभेदको अन्त्यका निम्ति सञ्चालित परियोजनाका गतिविधिबारे जानकारी लिएका छन् । विराटनगर र बाराका स्थानीयलाई भेटेर काठमाडौँ फर्किएका लेबर पार्टीका नेता उनले त्यहाँ भइरहेको सामाजिक रुपान्तरणको प्रशंसा गरे ।
उनले बाराका दलित समुदायमा शिक्षा र परिवर्तनप्रतिको चाहनाबाट आफू प्रभावित भएको जनाउँदै एफसिडिओको सहयोगमा भिएसओ नेपालले सीमान्तकृत समुदायका बालिका शिक्षा तथा जीवनयापनका लागि सञ्चालन गरेका कार्यक्रम अनुकरणीय पाएको बताए ।
बेलायतका तत्कालीन प्रधानमन्त्री गोर्डेन ब्राउनका विशेष सल्लाहकार उडले नेपालमा भएका सकारात्मक परिवर्तनबारे आफ्नो मुलुकमा उल्लेख गर्ने बताउँदै विविध संस्कृतियुक्त नेपालको सामाजिक-आर्थिक विकासका लागि बेलायत सरकारको सहयोग बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अक्सोफोर्ड विश्वविदालयमा राजनीति शास्त्र अध्यापन गरेका उनले नेपालको शैक्षिक उन्नयनका खतिर साझेदार बढाउन र बेलायती पर्यटकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने बताए ।
‘भीएसओ’ नेपालका देशीय प्रतिनिधि जयशङ्कर लालले उडजस्ता स्वयंसेवकले नेपालमा गरेको सेवाले आफूहरुलाई सामाजिक क्षेत्रमा गर्दै आएका काममा ऊर्जा थपिएको बताए ।