
काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले यस वर्ष (सन् २०२४) मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।
बिहीबार ‘एशियन डेभलपमेन्ट आउटलुक २०२४’ सार्वजनिक गर्दै एडीबीले यस्तो प्रक्षेण गरेको हो । पछिल्लो समय अर्थतन्त्रमा क्रमशः सुधार आएसँगै यस वर्ष आर्थिक वृद्धिदर बढ्ने एडीबीले प्रक्षेपण गरेको हो ।
सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशतमा सीमित थियो । त्यस्तै, आगामी वर्ष २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४.८ प्रतिशत हुने एडीबीको प्रक्षेपण छ ।
गत साता मात्रै विश्व बैंकले यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । एडीबीले विश्व बैंककोभन्दा धेरै वृद्धि हुने प्रक्षेपण गरेको हो । सरकारले भने चालु आवमा ७ प्रतिशत हाराहारी वृद्धि दर अनुमान गरेको छ ।
नेपाल सरकारको मौद्रिक नीतिमा क्रमिकरूपमा लचकता अपनाउँदै उपभोक्ता र लगानीकर्ताको विश्वास जित्ने र पछिल्लो छ महिनामा पूँजीगत खर्चमा तीव्रता दिने नीतिगत व्यवस्थाका कारण अर्थतन्त्र क्रमशः सुधारको दिशामा अघि बढेको बैंकले स्पष्ट गरेको छ ।
बैंकले कर्जा क्षेत्रमा देखिएको सहजता, ब्याजदरमा आएको गिरावट, पर्यटन तथा कृषि क्षेत्रको सुधार एवं निर्माणाधीन केही महत्वपूर्ण जलविद्युत् परियोजनाको उत्पादन सुरु भएसँगै औद्योगिक क्षेत्रमा परेको सकारात्मक प्रभावका कारण नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएको छ ।
कार्यक्रममा एडीबी नेपालका प्रमुख अर्थशास्त्री इयान हासिनले विश्वअर्थतन्त्रमा देखिएको शिथिलतका कारण नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको पर्यटन तथा विप्रेषण क्षेत्र प्रभावित हुनसक्ने जोखिम रहेको चर्चा गर्दै गरिबी निवारण, जलवायु परिवर्तन, ऊर्जा क्षेत्रसहित समृद्ध एवं समावेशी नेपालका पक्षमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
एडीबी नेपालका वरिष्ठ अर्थशास्त्री मानवर खड्काले पछिल्लो समय दक्षिण एसियाली मुलुकअन्तर्गत भारत र बङ्गलादेश उच्च आर्थिक वृद्धिदर हासिल गर्न सफल भएको जानकारी दिँदै बाँकी अन्य देशको तुलनामा नेपालको अर्थतन्त्र सन्तोषजनक रहेको बताए।
एडीबीका वरिष्ठ अर्थशास्त्री समीर खतिवडाले बाह्य लगानीमा भर नपरी विकास निर्माणसहित पूँजीगत खर्चको व्यवस्था देश स्वयंले गर्नुपर्ने धारणा व्यक्त गर्दै नतिजामुखी नीतिनियमसहित संरचनागत रुपान्तरणतर्फ नेपालको ध्यान जानुपर्ने सुझाव दिए।
बैंकले पेट्रोलियम पदार्थको मूल्यमा देखिएको गिरावट र भारतको मुद्रास्फीति न्यूनीकरणसँगै नेपालको औसत मुद्रास्फीति गत आर्थिक वर्षको ७.७ को तुलनामा चालु आर्थिक वर्षमा ६.५ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ । यसैगरी चालु आर्थिक वर्षको बाँकी अवधिमा उच्च आयात र स्थिर विप्रेषण आप्रवाहले आर्थिक वर्ष २०८०/८१ मा चालु खाता घाटा कूल ग्राहस्थ उत्पादनको ०.७ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।
सन् १९६६ मा स्थापित एडीबीमा एसिया–प्रसान्त क्षेत्रका ४९ सहित ६९ सदस्यहरूको स्वामित्व रहेको छ ।