काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।
कम्पनीले वैशाख २० गते २८ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा केन्द्रीय कार्यालय, तीनकुने, काठमाडौंमा बिहान १० बजे सुरू हुनेछ ।
कम्पनीले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रूपमा लैजाने भएको छ । प्रस्तावित लाभांश सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
त्यस्तै, कम्पनीले सभामा चुक्ता पूँजी पुर्याउन हकप्रद सेयर निष्काशन गर्ने वा अन्य विकल्प भए सोही बमोजिम कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिको संरचना परिवर्तन गर्ने, संस्थापक र सर्वसाधरण तर्फबाट ३/३ गरी ६ जना संचालक निर्वाचित गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु लैजाने भएको छ ।
लाभांश तथा साधरण सभा प्रयोजनका लागि कम्पनीले वैशाख ७ गते बुकक्लोज तोकेको छ । सो अनुसार वैशाख ६ गतेसम्म कायम रहने सेयरधनीले सधारण सभामा भाग र प्रस्तावित लाभांश पाउने छन् ।