काठमाडौं । सेयर बजारमा दोहोरो अंकको करेक्शन आएको छ । अघिल्ला दुई कारोबार दिनमा ३१ अंकले बढेको नेप्से आज १० अंकले घटेको हो ।
सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६५ करोड घटेर ३ अर्ब ४८ करोड रुपैयाँमा सीमित भएको छ ।
बुधबार नेप्से परिसूचक १०.७१ अंकले घटेर २०२५.३० बिन्दुमा आइपुगेको छ । यसदिन ३०८ कम्पनीको ८६ लाख ९६ हजार ९१८ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये व्यापार र उत्पादनमूल समूह बाहेक अरु सबैको परिसूचक घटेको छ । व्यापार समूह सर्वाधिक १.४६ प्रतिशतले बढेको छ भने फाइनान्स समूह २.५२ प्रतिशतले घटेको छ ।
आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको १२ करोड ५८ लाख रुपैयाँ बराबरको २ लाख २ हजार १५७ कित्ता सेयर किनबेच भएको छ ।
घट्दो बजारमा आज माण्डू हाइड्रोपावरका सेयरधनीले सर्वाधिक ९.६९ प्रतिशत कमाएका छन् भने सिंगटी हाइड्रोपावरका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।