‘क्वार्ज क्रिष्टल’ले गोरखाको पर्यटन प्रवर्द्धनमा इँट्टा थपेको छ : प्रधानमन्त्री दाहाल

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुमूल्य धातु ‘क्वार्ज क्रिष्टल’ ले गोरखाको पर्यटन प्रवर्द्धनमा नयाँ इँट्टा थपिएको बताएका  छन् । गोरखा नगरपालिकाले आज गोरखा दरबार परिसरमा आयोजना गरेको क्वार्ज क्रिष्टल प्रतिस्थापन कार्यक्रममा उनले ऐतिहासिक र पुरातात्विक महत्व बोकेको जिल्लामा बहुमूल्य धातु क्वार्ज क्रिष्टलको प्रतिस्थापन हुनुले यहाँको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

“क्वार्ज क्रिष्टल प्रतिस्थापनले यस क्षेत्रको महत्व र भूमिकालाई अझ व्यापक रुपमा स्थापित गर्छ भन्ने मेरो विश्वास छ”, प्रधानमन्त्री दाहालले भने, “यसले गोरखाको पर्यटन विकासमा पनि थप गुणात्मक भूमिका खेल्नेछ ।” उहाँले क्वार्ज क्रिष्टलको सुरक्षा व्यवस्था गम्भीरतापूर्वक मिलाउन र ऐतिहासिक स्थललाई थप व्यवस्थित बनाउन सम्बन्धित सबैलाई निर्देशन दिएका थिए । तत्कालीन राजा पृथ्वीनारायण शाहको गद्दी कक्षमा उक्त क्वार्ज क्रिष्टल प्रतिस्थापन गर्नुअघि दरबार परिसरमा उक्त क्वार्ज क्रिष्टलमा शिला पूजासमेत गरिएको थियो ।

“ऐतिहासिक तथा पुरातात्विक महत्वको गोरखा दरबारमा बहुमूल्य धातुको प्रतिस्थापन गर्दै गर्दा म गणतन्त्र नेपालको घोषणासँगै पहिलो पटक दरबार परिसरमा आएर यहाँको अवलोकन गर्ने मौका पाएको छु”, प्रधानमन्त्री दाहालले भने, “योसँगै अर्को ऐेतिहासिक कामको थालनी भएको छ । बहुमूल्य धातु क्वार्ज क्रिष्टल प्रतिस्थापन गर्ने अवसर पाएकामा खुसी छु ।” उनले गोरखाको ऐतिहासिकतालाई संवद्र्धन गर्न आफ्नो ठाउँबाट भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

“गोरखा जिल्लाका नागरिकले केही ऐतिहासिक विकास कार्य शुभारम्भ होस् भन्ने चाहेका छन् । बूढीगण्डकी जलविद्युत् आयोजना, गोरखाकाली रबर उद्योग, प्राद्यौगिक पार्क निर्माणलगायत क्षेत्रमा काम गर्नुपर्ने छ”, प्रधानमन्त्री दाहालले भने, “साथै पूर्वाधार विकास, सडक तथा पुल निर्माण गर्नुपर्ने विषयलाई मैले प्राथमिकतामा राखेको छु ।” चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा यस क्षेत्रका केही विषय समेट्न सहज नभए पनि आगामी आवको नेतृत्व आफैँले गरिरहेकाले आगामी आव नयाँ, विकाससँग सम्बन्धित र जनतालाई उत्साहित पार्ने किसिमक बजेट आउने उनले बताए ।

सामाजिक सुरक्षा कोषबाट आठ अर्ब भुक्तानी Read Previous

सामाजिक सुरक्षा कोषबाट आठ अर्ब भुक्तानी

एआईले विश्वव्यापी साइबर अपराध बढाउने : म्युनिख रेले Read Next

एआईले विश्वव्यापी साइबर अपराध बढाउने : म्युनिख रेले