अनावश्यक अनुगमन बढेकोप्रति महासंघको ध्यानाकर्षण, व्यवसायीलाई दुःख नदिने अर्थमन्त्रीको आश्वासन

काठमाडौ. । अर्थमन्त्री वर्षमान पुनले राजस्व संकलनको लागि व्यवसायीलाई अनावश्यक दुःख नदिने आश्वासन दिएका छन् । मंगलबार अर्थ मन्त्रालयमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल संगको भेटवार्तामा अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।

भेटको क्रममा ढकालले अर्थमन्त्री पुनलाई पछिल्ला दिनमा महासंघमा अनावश्यक बजार अनुगमन बढेको भन्दै सदस्यहरूबाट गुनासो आइरहेको जानकारी गराएका थिए ।

सरकारको राजस्व सङ्कलनमा कमी आएपछि सरोकारवाला निकायले व्यवसायीलाई समस्यामा पारेको उनले बताए । ढकालले निजी क्षेत्रले सुव्यवस्थित रुपमा काम गर्न नसके व्यवसाय मात्र नभई सरकारको राजस्वमा समेत असर पर्ने बताए ।

अध्यक्ष ढकालले मुलुकमा उद्योग, व्यवसाय सञ्चालनका लागि उपयुक्त वातावरण बनाउन पहल गर्न अर्थमन्त्री पुनलाई आग्रह गरे । उनले अहिले मुलुकले बढीभन्दा बढी स्वदेशी तथा विदेशी लगानी भित्र्याउने समय आएको बताए । लगानी सम्मेलन चाँडै नै हुन गैरहेकोले अध्यक्ष ढकालले अर्थमन्त्री पुनलाइ स्वदेशी लगानीकर्ताहरूलाई सम्मान गर्नु पर्ने र सरकारले व्यवसायी हरूको मनोबल बढाउनु पर्ने धारणा व्यक्त गरे ।

अर्थमन्त्री पुनले उठेको विषयलाई गम्भीरतापूर्वक हेर्ने आश्वासन दिए । उनले निजी क्षेत्रलाई जसरी पनि सहयोग गर्न सरकार सधै तत्पर रहेको बताए । मन्त्री पुनले राजस्व संकलनको लागि व्यवसायीलाइ अनावश्यक दुख नदिने आश्वासन पनि दिए ।

अर्थमन्त्री पुनले देशको अर्थतन्त्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच थप सहकार्य आवश्यक रहेको बताए । मन्त्री पुनले वर्तमान सरकारको अहिलेको मुख्य प्राथमिकता देशको अर्थतन्त्र सुधार रहेको बताए ।

 

आइपीओ ल्याएकै वर्ष सर्वोत्तम सिमेन्टको लाभांश घोषणा Read Previous

आइपीओ ल्याएकै वर्ष सर्वोत्तम सिमेन्टको लाभांश घोषणा

अब बैंकहरूले स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नपाउने Read Next

अब बैंकहरूले स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नपाउने