काठमाडौं । सेयर बजारमा सूचीकृत कम्पनीहरूमध्ये वाणिज्य बैंकहरूको सेयर सबैभन्दा सस्तो बनेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हाल १३ क्षेत्र (डिबेन्चर बाहेक) कम्पनीहरू सूचीकृत छन् । तीमध्ये वाणिज्य बैंकको सेयर मूल्य सबैभन्दा सस्तो भएका हुन् ।
नेपाली सेयर बजार विगत साढे २ वर्ष यता बियरिस ट्रेन्डमा छ । यस अवधिमा नेप्से उच्च विन्दुबाट ४० प्रतिशतभन्दा धेरै घटिसकेको छ । नेप्से १८००-२२०० बिन्दुमै पटकपटक घुमिरहेको छ ।
समग्रमा सेयर बजार घट्दा अधिकांश कम्पनीहरूको सेयर मूल्य घट्नु स्वभाविक हो । तर, अन्य क्षेत्रका कम्पनीको सेयर मूल्य बढेको बेलामा पनि वाणिज्य बैंकहरूको भने लगातार घटिरहेको छ । जसकारण केही बैंकको सेयर मूल्य इतिहासकै सस्तो समेत भएको छ ।
हाल नेप्सेमा २५० कम्पनी (म्युचुअल फण्ड र डिबेन्चर बाहेक) सूचीकृत छन् । तीमध्ये मुस्किलले डेढदर्जन कम्पनीको सेयर मूल्य २०० रुपैयाँभन्दा कम छ । जसमा वाणिज्य बैंकहरू मात्रै १० वटा रहेका छन् ।
वाणिज्य बैंहरूको सेयर मूल्य घट्नु मुख्य दुई कारण रहेको जानकारहरू बताउँछन् । पहिलो, अधिक सेयर संख्या र दोस्रो घट्दो प्रतिफल ।
अन्य क्षेत्रको कम्पनीको तुलनामा वाणिज्य बैंकहरूको सेयर संख्या अधिक छ । नेप्सेमा सूचीकृत कम्पनीहरूमा बैंकको हिस्सा एकतिहाई बढी छ । जसकारण सेयर मूल्य थोरै बढ्ने बित्तिकै बिक्रीको अधिक चाप आउने गरेको छ । तुलनात्मक रुपमा वाणिज्य बैंकहरू वर्षेनी प्रतिफल दिने कम्पनीहरूमा पर्छन् । नेपाली सेयर बजारमा आधारभूतभन्दा पनि चलखेल र हल्लाका भरमा लगानी गर्ने प्रवृत्ति पनि देखिन्छ । यसकारण पनि सप्लाइ भएका बैंकहरूको मूल्य बढ्न नसकेको देखिन्छ ।
वर्षौंदेखि घाटामा रहेका र प्रतिफल नै दिन नसक्ने अवस्थाका हाइड्रोहरूको सेयर संख्या कम भएकै कारण चलखेल गरेर सेयर मूल्य बढाइने गरेको देखिन्छ । तर, वाणिज्य बैंकहरूको हकमा भने चलखेल गर्न गाह्रो हुने हुँदा मूल्यमा असर पारेको देखिन्छ ।
यस्तै, बैंकहरूको खराब वित्तीय विवरणले पनि मूल्यमा प्रभाव पारेको छ । अहिले बैंकहरूको प्रगति खस्कँदो क्रममा छ । जसकारण लगानीकर्ता आकर्षित हुन नसक्दा सेयर मूल्यमा लगातार घट्दै गएको हो ।
अहिले बैंकहरूले नयाँ व्यवसाय विस्तार गर्न सकेका छैनन् भने विगतमा लगानी गरेको कर्जा असुलीमा समेत समस्या देखिएको छ । आर्थिक शिथिलताको असर बैंकिङ क्षेत्रमा पर्दा बैंकहरूको नाफामा गिरावट आएको छ भने खराब कर्जा चुलिँदो छ । जसकारण बैंकहरूको वितरणयोग्य एकदम न्यून छ ।
पछिल्ला वर्षहरूमा बैंकहरूको प्रतिफल लगतार घट्दो छ । गत वर्ष आधा बैंकले मात्र लाभांश दिएका थिए भने आगामी वर्ष आधा दर्जन बैंकले मात्रै दिनसक्ने देखिन्छ । अहिले नै आधादर्जन बैंकको वितरण योग्य नाफा ऋणात्मक छ । वर्षको अन्त्यसम्म यही अवस्था रहे अधिकांश बैंकको वितरण योग्य नाफा ऋणात्मक हुने देखिन्छ । जसकारण बैंकको सेयरप्रति लगानीकर्ताको आकर्षण घट्दा सेयर मूल्य लगातार घट्दै गएको हो ।
आधा बैंकको सेयर मूल्य २०० रुपैयाँभन्दा कम
हाल नेप्सेमा सूचीकृत आधा बढी बैंकको सेयर मूल्य २०० रुपैयाँभन्दा कम छ । नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकमध्ये १० बैंकको सेयर मूल्य (अन्तिम कारोबार मूल्यका आधारमा) २०० रुपैयाँभन्दा कम छ ।
जसमा सबैभन्दा कम कुमारी बैंकको सेयर मूल्य सबैभन्दा सस्तो प्रतिकित्ता १३८ रुपैयाँ मात्रै छ । त्यसैगरी, प्रभु बैंको प्रतिकित्ता मूल्य १३९.९० रुपैयाँ, लक्ष्मी सनराइजको १५७ रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगाको १५७.२ रुपैयाँ, सिटिजनको १६० रुपैयाँ, माछापुच्छ्रेको १७३.९ रुपैयाँ रहेको छ ।
त्यस्तै, चुक्ता पूँजीको आधारमा सबैभन्दा ठूलो रहेको ग्लोबल आइएमईको १८१.८ रुपैयाँ, हिमालयनको १८६ रुपैयाँ र प्र्राइम कमर्शियल बैंकको १९१.८ रुपैयाँ रहेको छ ।
जम्मा ९ बैंकको सेयर मूल्य २०० रुपैयाँ माथि छ । तीमध्ये ५ बैंकको ३०० भन्दा कम र ४ बैंकको ४०० रुपैयाँ माथि । जसमा स्ट्याण्डर्ड चार्टर्डको सबैभन्दा धेरै ५१३.७ रुपैयाँ छ ।