काठमाडौं । आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय योजनाहरु पनि ‘शो केस’ मा राखिने भएको छ ।
अर्थमन्त्री एवं लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुन अनन्तले प्रदेशका योजना पनि समावेश गरिने जानकारी दिए । अर्थमन्त्री पुनले बिहीबार साँझ निर्देशक समिति सचिवालयमा रहेका आधा दर्जन बढी मन्त्री र मुख्यमन्त्रीहरुसँग अन्तरक्रिया गरेका थिए ।
त्यस क्रममा उनले हाल तयारी अवस्थामा रहेका वा नयाँ योजना छनौट गरी लगानी सम्मेलनमा समावेश गर्न मुख्यमन्त्रीहरुलाई आग्रह गरे । त्यस क्रममा प्रदेश तहबाट हुने सहभागिता र सम्मेलनमा लगानीका लागि समावेश गर्न सकिने प्रादेशिक स्तरका आयोजनाहरुको तयारीबारे अन्र्तक्रिया भएको थियो ।
छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव र कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आफ्ना प्रदेशमा लगानीका लागि सम्भाव्य आयोजनाहरुबारे जानकारी गराए ।
जलविद्युत, सूचना प्रविधि, कृषि, पर्यटन, उद्योगलगायत क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न सकिने उनीहरुले बताए । निजी क्षेत्रका प्रतिनिधि संस्थाहरुले औंल्याएका विद्यमान केही कानूनमा संशोधन तथा विदेशी लगानीकर्तालाई मुनाफा लैजान सकिने आधार तय गर्नुपर्ने सुझाव मुख्यमन्त्रीहरुको थियो । उनीहरुले प्रदेशस्तरका केही ठूला आयोजना लगानी सम्मेलनमा राख्ने उल्लेख गरे ।
कार्यक्रममा मन्त्री पुनले लगानी वातावरण सुधारका लागि आवश्यक कानूनमा परिमार्जनको प्रक्रिया अघि बढेको जानकारी दिए । उनले गैरआवासीय नेपालीलाई पनि लगानी सम्मेलनमा आउन आह्वान गरिएको बताए । ‘गैरआवासीय नेपालीहरुलाई पनि लगानी सम्मेलनमा आमन्त्रण गरेका छौं’, उनले भने, ‘परिस्थितिबस अरु देशको नागरिकता लिएको भए पनि उहाँहरु नेपाली नै हुनुहुन्छ । आफ्नो मातृभूमिमा आएर लगानी गर्न इच्छुक पनि हुनुभएको मैले पाएको छु ।’