काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । दुई साता अघि मात्रै इतिहासकै महँगोको रेकर्ड बनाएको सुनको मूल्य आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला २ हजार ६०० रुपैयाँले बढेर १ लाख २७ हजार ८०० रुपैयाँ पुगेको छ ।
यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि फागुन २७ गते प्रतितोला १ लाख २६ हजार रुपैयाँ पुगेको थियो ।
महासंघका अनुसार आज तेजावी सुनको भाउ प्रतितोला १ लाख २७ हजार २०० रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार १९४.६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आज चाँदी प्रतितोला ३५ रुपैयाँ बढेर १ हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको छ ।