काठमाडौं । अहिले (बुधबार दिउँसो १ बजे) प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको विनियोजन विधेयका सिद्धान्त र प्राथमिकता माथि छलफल भइरहेको छ ।
बजेट माथि सांसदहरुले आफ्ना धारण राखिरहेका छन् । सोही क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद् बिना लामा आफ्नो धारणा राख्न रोस्ट्रममा पुगिन् ।
उनले संसदमा अर्थमन्त्री वर्षमान पुन नदेखेपछि आफ्नो धारण कसलाई सुनाउने भन्दै प्रश्न गरिन् । ‘यहाँ मैले अर्थमन्त्रीज्यू देखिनँ । अर्थमन्त्री नहुँदा खेरी कसलाई सुनाउने ? अर्थमन्त्रीलाई बोलाउन पाए राम्रो हुन्थ्यो,’ उनले भनिन् ।
त्यसपछि उपसभामुख इन्दिरा राणामगरले अर्थमन्त्रीले प्रतिनिधि राखेर खानाखान गएको सदनलाई जानकारी गराइन् । ‘अर्थमन्त्री आफ्नो प्रतिनिधि राखेर खाना खान जानु भएको छ,’ उनले भनिन्र । एक छिनपछि उनले फेरि अर्थमन्त्री सदनमा आउने जानकारी गराइन् ।
त्यसपछि सांसद लामाले आफ्नो पार्टीप्रति विभेद भएको बताइन् । उनले राप्रपाको सांसद रोष्टममा आएको बेला अर्थमन्त्री बाहिर गएको भन्दै आपत्ति जनाइन् । अर्थमन्त्री नआउन्जेल आफू नबोल्ने बताइन् । उनले त्यसोभन्दा राप्रपाका सांसदले टेबल ठोकेका थिए ।
अर्थमन्त्रीको प्रतिक्षामा सासंद लामा रोस्ट्रममै केहीबेर मौन बसेकी थिइन् । उपसभामुखले उनलाई अर्थमन्त्री आएपछि बोल्नु भन्दै अर्का सांसद प्रदीप यादवलाई समय दिएकी थिइन् । त्यसैबेला अर्थमन्त्री संसदमा आएपछि लामाले आफ्नो भनाइ् राख्न थालिन् ।