गण्डकी । दोस्रो मुख्य पर्यटकीय याम सुरू भएसँगै पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा पर्यटकको आउजाउ बाक्लिन थालेको छ । गत पुस-माघमा उक्त क्षेत्रमा भित्रने विदेशी पर्यटकको सङ्ख्या घटेकामा फागुनयता भने विस्तारै बढिरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।
आयोजनाका प्रमुख डा. रविन कडरियाका अनुसार गत फागुनमा १५ हजार ३६९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका छन् । पर्यटनका लागि ‘अफसिजन’ मानिने पुसमा ८ हजार ४९२ र माघमा जम्मा ६ हजार १७९ पर्यटकले सो क्षेत्रको भ्रमण गरेका थिए । ‘असोज-मङ्सिर र फागुन-वैशाख गरी दुई मुख्य पर्यटकीय याममा यस क्षेत्रमा पर्यटकको चहलपहल बढ्छ, प्रमुख डा कडरियाले भने, ‘जाडो र वर्षात्को याममा कम पर्यटक घुम्न आउँछन् ।’
चैत-वैशाखमा अझ धेरै पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रने उनले बताए । असोज-कात्तिक र चैत-वैशाखको याम पदयात्रा पर्यटनका लागि उत्तम मानिन्छ । यी दुवै याममा अन्नपूर्ण क्षेत्रमा पदयात्राका लागि विदेशी र आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गर्छ । पहिलो मुख्य पर्यटकीय यामको सुरू महिना असोजमा २८ हजार ७०५ पर्यटक घुमफरिका लागि उक्त क्षेत्रमा पुगेका थिए । कात्तिकमा २४ हजार ४१६ र मङ्सिरमा ११ हजार ९२८ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए ।
पछिल्लो समय भारतीय पर्यटक बढे पनि तेस्रो मुलुकका पर्यटकको सङ्ख्या भने घट्दै गएको प्रमुख डा. कडरियाले बताए । पुराना पदमार्ग विस्थापित हुँदै जाँदा पदयात्राका लागि आउने युरोप-अमेरिकाका पर्यटकको सङ्ख्या घटेको उनको भनाइ छ ।
सन् २०२३ मा अहिलेसम्मकै बढी विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएको आयोजना कार्यालयले जनाएको छ । उक्त वर्ष एक सय ७३ देशका एक लाख ९१ हजार ५५८ पर्यटकले सो क्षेत्रको भ्रमण गरेका थिए । त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा १ लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए ।
कोभिड-१९ महामारीका बेला पर्यटक आगमन ह्वात्तै घटेकामा महामारीको अन्त्यसँगै अन्नपूर्ण क्षेत्रको पर्यटनले फेरि पुरानै लय समातेको हो । उक्त महामारी छँदा सन् २०२१ मा जम्मा १६ हजार १०५ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए भने सन् २०२२ मा १ लाख २९ हजार ७३३ पर्यटक त्यस क्षेत्रमा पुगेका थिए ।
अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । आयोजना कार्यालयले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ ।
सडकमार्ग भएर मुस्ताङ, मुस्ताङलगायतका ठाउँ छिर्ने आन्तरिक पर्यटकको सङ्ख्या यकिन नै गर्न नसकिने आयोजना प्रमुख डा कडरियाले बताए । विश्वका उत्कृष्ट १० गन्तव्यभित्र परिसकेको अन्नपूर्ण क्षेत्रको पहिचानलाई कायमै राख्न त्यस क्षेत्रका पदमार्गलाई जोगाउनु आवश्यक रहेको उनको भनाइ छ ।
७ हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ । तीन वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नैपर्ने दश गन्तव्य सूचीमा राखेको थियो । गत कात्तिकमा नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुगेपछि त्यस क्षेत्रले थप चर्चा पाएको थियो ।
अमेरिकी सञ्चारमाध्यम ‘द न्युयोर्क टाइम्स’ले सन् २०२४ मा घुम्न उपयुक्त विश्वभरका ५२ ठाउँको सूचीमा समावेश गरेको मुस्ताङ पनि अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्छ । यसअघि अमेरिकाकै अर्को समाचार संस्था ‘सिएनएन’ले सन् २०२३ मा विश्वका घुम्नैपर्ने २३ गन्तव्यको सूचीमा मुस्ताङ उपत्यकालाई समेटेको थियो । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायतका मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा गर्न सकिन्छ । सडकमार्ग हुँदै पनि यस क्षेत्रका विभिन्न गन्तव्यस्थलमा पुग्न सकिन्छ । हिमशृङ्खलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा चिनिएको छ ।