काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १९ जनाले आवेदन दिएका छन् । बोर्ड अध्यक्षका लागि आवेदन दिने अन्तिम दिन बुधबारसम्म १९ जनाले आवेदन दिएको अर्थ मन्त्रालय वित्त व्यवस्थापन महाशाखाले जनाएको छ ।
बोर्डको अध्यक्ष बन्न नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकदेखि नेप्सेका सीईओ, सेयर विश्लेषक, निफ्राका पूर्व सीईओ समेत इच्छुक देखिएका छन् । महाशाखाका अनुसार अध्यक्षका लागि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकरी निर्देशक डा. गोपालप्रसाद भट्ट, बीमा सिमितिका पूर्वअध्यक्ष चिरन्जीवी चापागाईं, नेप्सेका सीईओ कृष्ण बहादुर कार्की, नेप्सेका पूर्वसीईओ सीताराम थपलियाले आवेदन दिएका छन् ।
त्यस्तै, धितोपत्र बोर्डकै कार्यकारी निर्देशकहरु कृष्णराज पोखरेल, डा.नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठले र पूवकार्यकारी निर्देशक निरज गिरीले पनि आवेदन दिएक छन् ।
त्यसैगरी, सन्तोषनारायण श्रेष्ठ, डा. केशवप्रसाद श्रेष्ठ, कृष्णबहादुर अधिकारी, डा. रघुराज काफ्ले, प्रविन पन्दाक, सूर्यप्रसाद अधिकारी, रामदेव यादव, डा. बिमलकुमार तिवारी, रामकृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्यालले आवेदन दिएका छन् ।
अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले १९ दाबेदारहरुमध्ये बाट कम्तीमा ३ जनाको नाम सिफारिस गर्नेछ । ती ३ जना मध्येबाट मन्त्रिपरिषद्ले बोर्डको अध्यक्ष नियुक्ति गर्नेछ ।
बोर्डको अध्यक्ष बन्न मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्ति हुनेपर्ने छ । साथै, उच्च नैतिक चरित्र भएको हुनुपर्नेछ ।
तत्कालीन बोर्ड अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएसँगै गत पुस २१ गतेदेखि बोर्डको अध्यक्ष पद रिक्त छ ।