एकै परिवारले एक सिजनमा बेचे ३५ लाखको सुन्तला

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँलास्थित एकै परिवारले रु ३५ लाखको सुन्तला उत्पादन गरेर बिक्री गरेका छन् । सफल सुन्तला उत्पादक किसानको पहिचान बनाएका यहाँका ८२ वर्षीय किसान देवीप्रसाद भण्डारीका छोराहरूले यस वर्ष रु ३५ लाखको सुन्तला उत्पादन गरेर बिक्री गरेको बताए ।

उनले करिब १ हजार सुन्तलाको बोट हुर्काएर छोराहरूलाई हस्तान्तरण गरेको बताए  । भण्डारीले करिब ४० वर्षदेखि परम्परागतरूपमा सुन्तला लगाउँदै आएका छन् । ‘चिन्दै नचिनेका मान्छेहरू स्याङ्जाबाट आएर यहाँ सुन्तला हुन्छ भनेर हौसला दिनुभयो’, देवीप्रसादले भने, ‘पहिला परम्परागतरूपमा लगायौँ भने २० वर्षदेखि व्यावसायिक सुन्तलाखेती गर्दै आएका छौँ ।’ उनले हालसम्म छोराहरूले ३ हजार सुन्तलाका बोट पुर्याएको दाबी गरे ।

देवीप्रसादका छभाइ छोरामध्ये तीनभाइले सुन्तलाखेती गर्दै आएका छन् । भण्डारीको काइँलो छोरा ताराप्रसादले यस वर्ष मात्रै रु २० लाखको सुन्तला उत्पादन गरेर बिक्री गरे । उनले अघिल्लो वर्ष रु १६ लाखको सुन्तला उत्पादन गरेका थिए । यस वर्ष जेठो छोरा डोलराज भण्डारीले रु १० लाख र साइँलो छोरा कमलले रु ५ लाखको सुन्तला उत्पादन गरेर बिक्री गरे । उनीहरूले पनि अघिल्लो वर्ष करिब रु १० लाखको सुन्तला बिक्री गरेका थिए ।

तीन वर्षपहिले सिम्रन कृषि तथा पशुपालन फार्म दर्ता गरेरै सुन्तलाखेतीलाई व्यवस्थित गरेको ताराप्रसादका छोरा कविराजले बताए  । उनका अनुसार हाल आफ्नो बगैँचामा उत्पादन दिने १ हजार बोट छन्भने बिरुवा र उत्पादन दिने तयारीका करिब १ हजार बोट छन् । १ हजार बोट नयाँ बिरुवा लगाउन खाल्डा तयारी अवस्थामा रहेको कविराजले बताए  ।

उनले पुराना बोट मासेर नयाँ लगाएका कारण यो वर्ष सुन्तला उत्पादन सोचेजस्तो नभएको सुनाए । उनले काउली, बन्दा, अकबरे खुर्सानीलगायत तरकारी बिक्री गरेर वार्षिक रु तीन लाख बिक्री गर्दै आएको बताए  । ‘खेती किसानीमा सबै परिवार आबद्ध छौँ । काम गरेअनुसारको प्रतिफल पनि छ’, कविराजले भने, ‘तर पनि कहिलेकाहीँ सबै विदेश जाँदा विदेश जाने रहर जाग्न थालेको छ ।’

कविराजको हजुरआमा उमादेवी भण्डारीले विदेशको कमाई जित्न सक्ने यहाँ सुन्तला उत्पादन हुने बताए  । ‘यहाँ सुनसरह सुन्तला फल्छन् तर पनि नातिहरू विदेश जान्छौँभन्दा मन अमिलो हुन्छ’, उनले दुखेसो पोखे, ‘हामीलाई सम्पत्ति पुग्दो छ, केही चाहिएको छैन, बुढेसकालमा छोरानातिसँगै बस्न पाए मनै हलुङ्गो हुन्थ्यो ।’

यहाँ उत्पादित सुन्तला काठमाडौँ, बुटवल, पोखरा, कावासोती, इँटहरी, धादिङ, इनरुवालगायत जिल्लामा निर्यात हुने गरेको छ । ठेकेदारहरू गाडी नै लिएर सुन्तला खरिद गर्न आउँछन् । यहाँका किसानले पनि ‘ग्रेडिङ’ गरिएको सुन्तला रु ६० देखि १२० सम्ममा ठेकेदारलाई थोक मूल्यमा बिक्री गर्ने गरेका छन् ।

किसान ताराप्रसादले सिँचाइको चरम अभावका कारण यहाँको माटो र हावापानीअनुसार सुन्तला उत्पादन नभएको गुनासो गरे । ‘सिँचाइको सुविधा मात्र भए ५० प्रतिशतले उत्पादन बढाउन सकिन्थ्यो,’ उनले भने, ‘जिल्लामै सिरौँसा सुन्तला उत्पादनका लागि प्रख्यात भए पनि सरकारी निकायबाट त्यति राम्रो सहयोग पाएका छैनौँ ।’ ताराप्रसादले सिँचाइ, बिरुवा, उपचार, अनुदान, बजारीकरण, परामर्शलगायत सहयोग पाए आफूहरूलाई ठूलो राहत मिल्ने बताए  ।

सुन्तला पकेट सञ्चालक समिति सिरौँसाका अध्यक्ष रामप्रसाद भण्डारीले सिरौँसामा अघिल्लो वर्ष रु २ करोडको सुन्तला बिक्री भएको बताए  । उनले अघिल्लो वर्ष सुन्तला पकेट क्षेत्रमा आबद्ध ६० जना किसानले रु २ करोड ५० लाख मूल्यबराबरको सुन्तला बिक्री गरेको दाबी गरे ।

विसं २०७० देखि यहाँ सुन्तला पकेट क्षेत्र घोषणा गरेर ‘सुन्तला पकेट क्षेत्र’ कार्यक्रम सञ्चालन गरिएको छ । कृषि ज्ञान केन्द्र स्याङ्जा, सुन्तला सुपर जोन स्याङ्जा, बाली संरक्षण कार्यालय पोखराले सिरौँसामा सुन्तलासम्बन्धी प्रशिक्षण, अनुदान, परामर्श, बीउबिजनमा सहयोग गर्दै आएको छ । ती निकायले पक्की ट्याङ्की, प्लास्टिक ट्याङ्की, प्लास्टिक पोखरी निर्माण गरिदिएका छन् । यहाँ सुन्तला आइपिएम पाठशालासमेत सञ्चालनमा छ ।

अस्तव्यस्त बन्दै भेरी करिडोर, ६२ किमीको ठेक्का लाग्नै बाँकी Read Previous

अस्तव्यस्त बन्दै भेरी करिडोर, ६२ किमीको ठेक्का लाग्नै बाँकी

अमेरिकी राष्ट्रपति निर्वाचनमा फेरि बाइडन र ट्रम्प भिड्ने पक्का, यस्ता छन् चुनावी एजेन्डा Read Next

अमेरिकी राष्ट्रपति निर्वाचनमा फेरि बाइडन र ट्रम्प भिड्ने पक्का, यस्ता छन् चुनावी एजेन्डा