मकवानपुर । हेटौँडा दुग्ध वितरण आयोजनाले तराईका जिल्लाबाट अहिले दैनिक करिब २० हजार लिटर दूध सङ्कलन गर्ने गरेको छ ।
सङ्कलित दूधमध्ये विराटनगरमा धुलो दूध उत्पादनका लागि दैनिक १२ हजार लिटर र हेटौँडा दूध विकास बोर्डलाई ६ हजार लिटर गरी कूल १६ हजार लिटर दूध पठाउने गरेको आयोजनाले जनाएको छ ।
आयोजनाले पर्साको वीरगञ्ज, चितवनको भरतपुर र नारायणगढ तथा मकवानपुरको हेटौँडामा दैनिक चार हजार लिटर स्थानीय उपभोक्तालाई दूध वितरण गर्दै आएको छ ।
आयोजनाले मधेस प्रदेशको सर्लाही, रौतहट, बारा, पर्सा र बागमतीको मकवानपुरमा गरी २०० दूध उत्पादक सहकारी संस्थाबाट दूध खरिद गर्ने गरेको जनाएको छ ।
आयोजनाका प्रमुख राजीव खनालले तराईका जिल्लाका किसानले अहिले पशुपालन गरी त्यस भेगबाट दैनिक दुई लाख लिटरभन्दा बढी दूध उत्पादन गर्दै आएको भएता पनि वीरगञ्ज, नारायणगढ र हेटौँडा बजारमा स्थानीय उपभोक्ताको माग वृद्घि हुन नसक्दा ती किसानले उत्पादन गरेको दूधलाई आयोजनाले थप खरिद गर्नुपर्ने चुनौती थपिएको बताए।
उनका अनुसार आयोजनाले अब ती सहरमा थप दूधको माग बढाउन वीरगञ्ज, भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगरपालिका र चितवनको रत्ननगर नगरपालिकाका जनप्रतिनिधि तथा स्थानीय उपभोक्ताबीच सहकार्य र प्रविधिक पक्षमा छलफल गर्न केही दिनभित्र प्राविधिक टोली त्यसतर्फ खटाउने छ ।
यसैगरी, आयोजनाले मधेसका चार जिल्ला र बागमतीको मकवानपुरका गरी करिब २८ हजार ४०० किसानलाई सो दूध खरिद गरेबापत मासिक रु ३ करोड १० लाख रकम भुक्तानी गर्ने गरेको प्रमुख खनालले बताए । यसैगरी, आयोजनाले अहिले दैनिक दही सात सय लिटर, घ्यू नौ सय किलो, पनिर ४०० किलो र मख्खन ५०० किलो उत्पादन गर्दै आएको छ ।
आयोजनाले मिठाईतर्फ पेडा र लालमोहन दैनिक एक हजार दुई सय कार्टुन उत्पादन गर्दै आएको छ । काठमाडौँका उपभोक्ताको मागबमोजिम मिठाई, पेँडा र लालमोहन दैनिक आठ सय कार्टुन पठाउँदै आएको सो आयोजनाले जनाएको छ ।
गत साउन र भदौको तुलनामा स्थानीय बजारमा दूधको माग कम हुँदा अहिले दैनिक दुई हजार लिटर दूध खरिदमा कटौती गरेको आयोजनाका सूचना अधिकारी कृष्णबहादुर श्रेष्ठले बताए। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सो आयोजनामा प्रशासन, लेखा, प्राविधिक र मजदुर गरी १५० व्यक्ति कार्यरत छन् ।रासस