सेयर बजारमा कसरी लाग्छ सर्किट ब्रेक, यस्तो छ नियम

काठमाडौं । मंगलबार सेयर बजारमा उछाल आएको छ । सत्ता समीकरण बदलिएसँगै खुलेकाे बजारमा करिब ५ मिनेट मात्रै कारोबार हुँदा नेप्सेमा पोजेटिभ सर्किट ब्रेक लागेर दिनभरका लागि काराेबार बन्द भयो । यस दिन नेप्से ६ प्रतिशत (११७ अंक)ले बढेपछि तेस्रो सर्किट लाग्दै कारोबार बन्द भएको हो ।

यसअघि पनि हामीले पटक-पटक नेप्सेमा सर्किट ब्रेक लागेको देखेका छौं । बजारमा सकारात्मक प्रभाव पर्दा पोजेटिभ र नकारात्मक प्रभाव पर्दा नेगेटिभ सर्किट ब्रेक लाग्छ ।

सेयर बजार आफैंमा अस्थिर हुन्छ । यसको प्रवृत्ति नै गतिशील हुने भएकाले यो कहिलेकाहीँ एकोहोरो बढिरहने वा घटिरहने क्रम जारी हुन्छ । यस्तो अवस्थामा बजार अस्वभाविक हुन पुग्दछ । जसले गर्दा लगानीकर्तालाई धेरै नाफा/घाटा हुने सम्भावना हुन्छ ।

त्यसैले, लगानीकर्तालाई एकैपटकमा धेरै फाइदा/घाटा नपुगोस् भनेर सम्बन्धित नियामक निकायले निश्चित प्रतिशतको घट/बढपछि कारोबार स्थगन गर्ने कानूनी व्यवस्था गरेको हुन्छ । जसलाई सर्किट ब्रेकर (सर्किट ब्रेक) भन्ने गरिन्छ । यो सकारात्मक (पोजेटिभ) र नकारात्मक (नेगेटिभ) दुवै किसिमको हुने गर्दछ ।

अन्तर्राष्ट्रिय अभ्यास र बजारको आवश्यकता अनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले २०७५ चैत १९ देखि सेयर बजारमा सर्किट सम्बन्धी नयाँ व्यवस्था लागू गरेको थियो । जस अनुसार एक कारोबार दिनमा ३ पटकसम्म सर्किट ब्रेक लगाइने व्यवस्था गरिएको छ ।

यस व्यवस्था अनुसार कारोबार दिनमा बजार खुलेको पहिलो १ घण्टा (११ देखि १२ बजेसम्म)भित्र नेप्से परिसूचक ४ प्रतिशतले घट्यो वा बढ्यो भने भने पहिलो सर्किट ब्रेक लाग्दछ । पहिलो सर्कटपछि २सुरू मिनेटका लागि कारोबार स्थगन गरिन्छ । जसले मार्केटलाई कुलडाउन गराउनमा सहयोग पुग्छ भन्ने मान्यता राखिन्छ ।

यसैगरी, दोस्रो घण्टाभित्र (१२ देखि १ बजेसम्म) वा पहिलो सर्किट ब्रेकर पुनः कारोबार सुरू भएपछि नेप्से परिसूचक ५ प्रतिशतले बढे वा घटे दोस्रो सर्किट ब्रेक लाग्छ । दोस्रो सर्किट लागेपछि कारोबार ४० मिनेटका लागि बन्द हुन्छ ।

दोस्रो सर्किटपछि पनि सूचक एकोहोरो घट/बढ हुने क्रम निरन्तर रह्यो भने सो दिनका लागि तेस्रो पटक सर्किट लगाई कारोबार पूर्ण बन्द गरिन्छ । अर्थात् दोस्रो सर्किटपछि काराबार सुरू भएको वा बजार खुलेको तेस्रो घण्टाभित्र (१ देखि ३ बजेसम्मको बीचमा) नेप्से परिसूचक ६ प्रतिशतले घट्यो/बढ्यो भने तेस्रो सर्किट ब्रेक लाग्छ । तेस्रो सर्किट ब्रेक लागेपछि सो दिनको बाँकी अवधिका कारोबार पूर्ण रूपमा बन्द गरिन्छ ।

कम्पनीको हकमा १० प्रतिशतमा सर्किट

कम्पनीको हकमा भने सेयर मूल्य अधिकतम् १० प्रतिशत घट/बढ भएपछि मात्रै सर्किट ब्रेक लाग्छ । र, एकैपटक १० प्रतिशत मूल्य घटाउन/बढाउन पाइँदैन ।

प्रत्येक कारोबारमा २ प्रतिशतका दरले ५ पटकसम्म कारोबार भई १० प्रतिशतले घट/बढ भएपछि मात्रै सो कम्पनीको सेयर मूल्यमा सर्किट लाग्ने व्यवस्था छ ।

कम्पनीको मूल्यमा सर्किट ब्रेक लागे पनि दिनभरका लागि कारोबार भने बन्द हुँदैन । खरिद र बिक्री कर्ता भएमा १० प्रतिशत घट/बढकै अवस्थामा पनि दिनभर कारोबार गर्न सकिन्छ ।

 

विश्व बजारमा छाउँदै धराने खुकुरी, अमेरिकादेखि युरोपसम्म पुग्छ Read Previous

विश्व बजारमा छाउँदै धराने खुकुरी, अमेरिकादेखि युरोपसम्म पुग्छ

दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै चितवनका किसान Read Next

दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै चितवनका किसान