‘विकासका साझा एजेण्डा नभएसम्म देशमा आर्थिक समृद्धि हासिल हुन सक्दैन’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विकासका लागि साझा एजेण्डा बनाउनुपर्ने बताएका छन् ।

पर्वत उद्योग वाणिज्य सङ्घको ४१औँ वार्षिक साधारणसभा तथा १८औँ अधिवेशनको आज कुश्मामा उद्घाटन गर्दै उनले विकासका साझा एजेण्डा नभएसम्म मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताएका हुन् ।

अध्यक्ष ढकालले आर्थिक हिसाबले मुलुक अस्तव्यस्त बनेको बेला सबै दलहरुले विकासका साझा एजेण्डा तयार गर्नुपर्नेमा जोड दिए । उनले उद्योग, कलकारखाना खोल्ने कुरालाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँदै औद्योगिक क्षेत्रको विकाससँगै ऊर्जा, जलस्रोत, पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्ने बताए ।

अध्यक्ष ढकालले कोभिड–१९, रसिया–युक्रेन युद्धका साथै सरकारको आर्थिक नीतिका कारण अर्थतन्त्र धरासायी बनेको भन्दै अब भने सुधार हुँदै जाने बताए । ‘जति बिग्रिने हो त्यति बिग्रिसकेको छ । अब अर्थतन्त्र चलायमान हुँदै गएकाले यो क्षेत्र सुधार हुन्छ,’ उनले भने ।

अध्यक्ष ढकालले उद्योग वाणिज्य महासङ्घको निरन्तरको दबाबपछि राष्ट्र बैंकले ब्याजदर घटाएको स्मरण गराउँदै निजी क्षेत्रको विकास र व्यावसायीको हितका लागि महासङ्घले काम गर्दै आएको बताए। पर्वतको विकासको लागि लगानीमैत्री वातावरण बनाउने सङ्कल्प गर्नुपर्ने उनको भनाइ छ ।

अध्यक्ष ढकालले तीन तहका सरकारका बीच समन्वय नहुँदा लगानीकर्ता र व्यवसायीले उल्झन व्यहोर्नुपरेको उल्लेख गर्दै उपयुक्त समय भएमा एक वर्षमै लगानीको क्षेत्रमा ठूलो उपलब्धि हासिल हुने विचार व्यक्त गरे। पर्यटनको हिसाबले पर्वत उत्कृष्ट जिल्ला बन्दै गएको उनले बताए ।

अध्यक्ष ढकालले पर्वत पर्यटन, जलविद्युत् र धार्मिक क्षेत्रमा अथाह सम्भावना बोकेको जिल्ला भएको उल्लेख गर्दै यस क्षेत्रमा लगानी बढाउन सकेमा रोजगार सिर्जना हुनुका साथै जिल्लाको समृद्धिमा टेवा पुग्ने बताए ।

पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र, यी ५ ठाउँमा पार्किङको व्यवस्था Read Previous

पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र, यी ५ ठाउँमा पार्किङको व्यवस्था

बिलेट र स्पञ्ज आइरनको कर विवाद फेरि ब्यूँझियो, समितिले थाल्यो सोधखोज Read Next

बिलेट र स्पञ्ज आइरनको कर विवाद फेरि ब्यूँझियो, समितिले थाल्यो सोधखोज