१० अर्ब खर्चेर एसियन स्तरको बनाइँदै काँकरभिट्टा-सितापुरी सडक, रुख काट्न सुरू

सांकेतिक तस्वीर ।

झापा । पूर्वपश्चिम एसियन राजमार्ग निर्माणका लागि काँकरभिट्टाबाट रुख कटान सुरु भएको छ ।

‘दुई लेन’सडकलाई चार लेनमा रुपान्तरण गर्ने उद्देश्यअनुरुप निर्माण सुरु गरिएको एसियन राजमार्गमा बिहीबारदेखि रुख कटान सुरु भएको ‘डिभिजन’ वन कार्यालयका प्रमुख मेघराज राईले बताए ।

एसियन राजमार्ग निर्माणका लागि काँकरभिट्टा–सितापुरीलाई पूर्वीखण्ड र सितापुरी–मावा खोलालाई पश्चिम खण्डमा विभाजन गरिएको छ । उनका अनुसार पूर्वी खण्डको ठेक्का प्रक्रिया सम्पन्न भइसकेकाले काँकरभिट्टा–सितापुरीसम्मको ४५ किलोमिटर सडकका ४ हजार ७२३ रुख आजदेखि काट्न थालिएको हो ।

उनले निर्माण ठेक्का पाएको कम्पनीले दुई महिनाभित्रमा काँकरभिट्टादेखि केर्खासम्मका रुख कटान गरिसक्नुपर्ने जानकारी दिए । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले धुलाबारीमा पूजापाठ गरी रुख कटान सुरुवात गरेका हुन् ।

रुख कटानसँगै सडक विस्तारको काम सुरु भइसकेको एसियाली विकास बैंक आयोजना कार्यालय दमकका प्रमुख सुनिलबाबु पन्तले बताए । उनले राजमार्गका उत्तर दक्षिण विभिन्न भागमा ‘साइड क्लियरेन्स’ को काम भइरहेको बताए ।

‘काम सुरु गर्न रुख नै बाधक थियो,’ उनले भने, ‘रुख काट्ने अनुमति हिजो आएर कटान सुरु भयो अब द्रुतगतिमा काम हुन्छ ।’ उनले सडक निर्माणसँगै जमिनमुनिका पानीका पाइप र बिजुलीको खम्बा हटाइने बताए ।

एसियाली विकास बैंकको सहयोगमा निर्माण सुरु भएको काँकरभिट्टादेखि केर्खासम्मको सडक करिब रु. १० अर्बको लगानीमा सम्पन्न हुने गरी ठेक्का एभ्रासकन कालिका जेभीले लिएकोे छ ।

एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘महान् एसियाली राजमार्ग’ अन्तर्गत नेपालको १ किलोमिटर भागमा मेचीपुल निर्माणसँगै संरचना पूर्णरुपमा निर्माण भइसकेका छन् । फराकिलो सडकका कारण सडकमा हुने सवारी दुर्घटना घटाउन तथा पूर्वी नाकाबाट स्थलमार्ग हुँदै आउने पर्यटकको सङ्ख्या बढ्ने हुँदा मुलुकको अर्थतन्त्रमै टेवा पुग्ने अपेक्षा गरिएको छ ।रासस

रिडी पावरको हकप्रद बिक्री खुला, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ? Read Previous

रिडी पावरको हकप्रद बिक्री खुला, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ?

सबै राजनीतिक दलले साझा एजेन्डा बनाएर सुधार नगरे अर्थतन्त्र दुर्घटना हुन सक्छ : अध्यक्ष ढकाल Read Next

सबै राजनीतिक दलले साझा एजेन्डा बनाएर सुधार नगरे अर्थतन्त्र दुर्घटना हुन सक्छ : अध्यक्ष ढकाल