काठमाडौं । काठमाडौं महानगरपालिकाले भवन निर्माण इजाजतका लागि नयाँ नक्सा दर्ता गर्दा घरधनीको बायोमेट्रिक लिन सुरु गरेको छ ।
मंगलबार (फागुन १५) गतेबाट सहरी व्यवस्थापन विभागको रजिष्ट्रेसन डेक्सबाट यो सेवा थालिएको हो । विभागका स्ट्रक्चरल इञ्जिनियर सन्तोष पाण्डेका अनुसार अहिले बुढी औँला र चोर औँलाको चिह्न लिइन्छ । यसलाई अद्यावधिक गरेर रेटिना र हस्ताक्षरसहितको बनाउने योजना छ ।
पाण्डेकाअनुसार अहिले केन्द्रमा थालिएको सेवा सबै वडामा लगिनेछ । ईवीपीएस प्रणालीबाट आवेदन दिनु अघि इञ्जिनियरले नक्सा बनाउँछ । यससँग सम्बन्धित कागजात संकलन गरेर फाइल (बुकलेट) तयार हुन्छ । यो डकुमेन्ट अनलाइनबाट भवन निर्माण इजाजतका लागि पेश गरिन्छ ।
सामान्यतया यो प्रक्रियाका लागि घरधनीले इञ्जिनियर वा परामर्शदाताको सहयोग लिएका हुन्छ । यसरी पठाइएको विवरण ठिक छ कि छैन भनेर घरधनी महानगरपालिकामा जाँच गर्न आउँदा बायोमेट्रिक लिइने हो । ‘महानगर आउँदा घरधनीले लालपूर्जा र नापी नक्साको सक्कल लिएर आउनुपर्छ । विवरण दोहोरो नहोस् भनेर हेर्नका लागि यो चाहिएको हो । सक्कल कागजपत्र तत्काल फिर्ता हुन्छ,’ उनले भने ।
एकपटक बायोमेट्रिक गरिसकेपछि घरधनीले जहाँ जहाँ हस्ताक्षर गर्नुपर्ने हो, त्यो ठाउँमा प्रणालीले नै हस्ताक्षर राखिदिन्छ । यो प्रणालीलाई अहिले सम्पत्ति कर आबद्ध भइसकेको छ । बैंकिङ प्रणालीसँग अटोमेसन भइसकेको छ । भवन नक्सा स्वीकृतिका लागि तिर्नु बुझाउनु पर्ने सबै प्रकारका शुल्क मोवाइलबाटै तिर्न सकिन्छ । प्रणालीमा घरधनीकै मोबाइल नम्बर हुने भएकोले प्रमाणीकरण गर्न सहज हुनेछ ।
सम्पत्ति करसँग प्रणाली आवद्ध भइसकेकोले सम्पत्ति कर तिरेको ट्याक्स पेयर कोड (संकेत नं.) राखिसकेपछि मात्र पेज खुल्छ ।