सर्वोत्तम सिमेन्टको आइपीओ ९५ प्रतिशतले नपाउने, कति जनाले भरे ?

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) मा मागभन्दा १९ गुणा धेरै आवेदन परेको छ ।

सीडीएस एण्ड क्लियरिङका अनुसार कम्पनीको आइपीओमा आवेदन दिने अन्तिम दिन बुधबार अपराह्न ५ बजेसम्म कुल १० लाख १२ हजार ३८४ जनाले ५ करोड ३६ लाख ३३ हजार ९९० जनाले आवेदन दिएका छन् ।यो मागभन्दा १९.३२ गुणा धेरै हो ।

उनीहरुले कुल १९ अर्ब ३५ करोड रुपैयाँ बराबरको आवेदन दिएका हुन् । यद्यपि, अन्तिम तथ्यांक आइ नसकेकाले आवेदकको संख्या अझै बढ्न सक्ने सीडीएसले जनाएको छ ।

कम्पनीले सर्वसाधरणका लागि बुक बिल्डिङ विधिबाट प्रतिकित्ता ३६०.९० रुपैयाँ दरले कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर बिक्रीमा ल्याएको थियो । कम्पनीको आइपीओमा अधिक आवेदन परेकाले करिब ९५ प्रतिशत आवेदकले सेयर नपाउने देखिएकाे छ ।

बुक बिल्डिङबाट जारी भएको आइपीओ कम्तीम ५० कित्ताका दरले बाँडफाँट गर्नुपर्ने व्यवस्था छ । सो अनुसार कम्पनीको आइपीओ जम्मा ५५ हजार ५२१ जना (५.५ प्रतिशत)लाई मात्रै बाँड्न पुग्छ ।  साढे ९लाख बढी आवेदकको हात रित्तै हुने देखिएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल रहेको छ।

सेयर निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर त्रिपल बी’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमा नै वित्तीय दायित्व बहन गर्न क्षमता मध्यम स्तरको रहेको जनाउँदछ ।

कम्पनीको उद्योग नवलपरासीको सुनवल नगरपालिका–११, जोडेनीमा रहेको छ । उद्योगले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आइरहेको छ । सो उद्योगको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट रहेको छ।

जापानमा सन् २०२७ देखि 'सेल्फ ड्राइभिङ' ट्याक्सी सेवा सञ्चालन हुने Read Previous

जापानमा सन् २०२७ देखि 'सेल्फ ड्राइभिङ' ट्याक्सी सेवा सञ्चालन हुने

अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयर बिक्री खुला, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ? Read Next

अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयर बिक्री खुला, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ?