काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । बिहीबार १४ अंकले घटेको नेप्से आज २७ अंकले घटेको हो ।
आज बजार खुलेदेखि ओरालो लागेको नेप्सेले अन्त्यसम्म सोही लय कायम राखेको हो । आइतबार नेप्से परिसूचक २७.२१ अंकले घटेर २०३४.८२ विन्दुमा आइपुगेको छ । यसदिन ३१५ कम्पनीको ३ अर्ब ७७ करोड रुपैयाँ बढीको १ करोड ७ लाख ७२ हजार ४८३ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक २.७० प्रतिशतले घटेको छ ।
आज पनि हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ४० करोड ९० लाख रुपैयाँको ६ लाख ३२ हजार ७५७ कित्ता सेयर किनबेच भएको छ ।
घट्दो बजारमा पनि आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । समाज लघुवित्त र बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
आज सामलिङ पावरका सेयरधनीले भने सर्वाधिक ८.२१ प्रतिशत गुमाएका छन् ।