शिवम्, घोराही र सोनापुर सिमेन्टमा कुनको सेयर किन्दा बढी फाइदा ?

काठमाडौं । नेपाली सेयर बजारमा बैंक तथा वित्तीय संस्थाहरूकै वर्चश्व रहेको छ । झन्डै दुईतिहाई हिस्सा बैंक तथा वित्तीय संस्थाहरूकै छ भने १५ प्रतिशत हिस्सा जलविद्युत् कम्पनीको छ । नेप्सेमा सूचीकृत १३ क्षेत्रका कम्पनीहरूमा बैंक तथा वित्तीय संस्था र जलविद्युत् बाहेक अरू क्षेत्र (रियल सेक्टर)को हिस्सा अति न्यून छ ।

रियल सेक्टर क्षेत्रका कम्पनीलाई सेयर बजारको खम्बाको रूपमा लिइने भए पनि नेपालमा भने नगन्य मात्र सूचीकृत छ । हाल नेप्सेमा सूचीकृत २७१ कम्पनीमध्ये मुस्किलले २ दर्जन कम्पनी मात्रै रियल सेक्टरका छन् । त्यसमा पनि उत्पादनमूलक क्षेत्रका कम्पनी ८ वटा मात्रै कारोबारमा छन् । रियल सेक्टरका कम्पनीलाई पूँजी बजाउमा ल्याउन सरकारले नीतिगत सहजता गरे पनि अपेक्षित रूपमा आउन सकेका छैनन् । यद्यपि, पछिल्लो समय १ दर्जन बढी रियल सेक्टरका कम्पनी सेयर बजारमा आउने पाइपलाइनमा छन् ।

सेयर बजारमा उत्पादनमूलक क्षेत्रका कम्पनीको सेयरमा उच्च आकर्षण देखिन्छ । अन्य क्षेत्रका कम्पनीको तुलनामा यस क्षेत्रका कम्पनीको सेयर संख्या तुलानात्मक रूपमा कम हुने र वर्षेनी लाभांश दिने भएकाले लगानीकर्ता आकर्षित हुने गरेका छन् । यद्यपि, सबै उत्पादनमूक कम्पनीले लाभांश दिन्छन् नै भन्ने चाहिँ छैन ।

पछिल्लो समय सेयर बजारमा सिमेन्ट कम्पनीको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । नेप्सेमा हाल ३ वटा शिवम्, घोराही र सोनापुर सिमेन्ट सूचीकृत छन् । विगत ६ महिना यता सिमेन्ट कम्पनीहरू सर्वाधिक कारोबार हुने शीर्ष १० कम्पनी भित्र रहँदै आएका छन् ।

शिवम् ५ वर्ष अघि सूचीकृत भएको हो भने घोराही र सोनापुर यसै वर्ष मात्र सेयर बजारमा आएका हुन् । विगतमा शिवम् सिमेन्ट सेयर बजारको ‘हटकेक स्क्रिप्ट’ समेत बनेको थियो । प्रतिकित्ता मूल्य २ हजार रुपैयाँ हाराहारी पुगेको थियो । हाल भने ५०० रुपैयाँभन्दा कममा करोबार भइरहेको छ ।

त्यस्तै, घोराही र सोनापुर पनि लगानीकर्ताको रोजाइमा पर्दै आएका छन् । प्रिमियममा आइपीओ जारी गरेका दुवै कम्पनीको सेयर मूल्य उच्च वृद्धि भएको छ । प्रतिकित्ता २३७.५८ रुपैयाँमा आइपीओ जारी गरेको सोनापुरको सेयर मूल्य दोब्बरभन्दा धेरैले बढेर ५७५ रुपैयाँसम्म पुगेको थियो । त्यस्तै, प्रतिकित्ता ४३५ रुपैयाँमा आइपीओ जारी गरेको घोराहीको मूल्य ६१४ रुपैयाँसम्म पुगेको थियो ।

हालै सार्वजनिक गरेको वित्तीय विवरण अनुसार भने तीनै कम्पनीको व्यवसाय निकै खच्किएको देखिएको छ । शिवम्को नाफा ६६ प्रतिशतले घटेको छ भने घोराही र सोनापुर घाटामा छन् । सेयर लगानीकर्ताको रोजाइमा रहेका तीनै सिमेन्ट कम्पनीको चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणका आधारमा कुन अब्बल भनेर यहाँ तुलनात्मक समीक्षा गरेका छौं ।

चुक्ता पूँजी : चुक्ता पूँजीका आधारमा शिवम सबैभन्दा ठूलो रहेको छ । हाल शिवको चुक्ता पूँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ रहेको छ । घोराहीको ४ अर्ब ५६ करोड र सोनापुरको ३ अर्ब ३ करोड रुपैयाँ छ ।

रिटेन्ड अर्निङ तथा जगेडा कोष : कुल जगेडा कोषमा भने घोराही बलियो रहेको छ । यसको जगेडा कोषको आकार चुक्ता पूँजीभन्दा धेरै छ । सेयर प्रिमियम, रिटेन्ड अर्निङ र सेयर प्रिमियम बापतको गरी घोराहीको कुल जगेडा कोषमा ५ अर्ब ७३ करोड रुपैयाँ संचित ।

त्यस्तै, शिवम् सिमेन्टको सेयर प्रिमियमा ९५ करोड ६२ लाख र अन्य जगेडा कोषमा ३ अर्ब ४५ करोड गरी कुल रिजर्भमा ४ अर्ब ४० करोड रुपैयाँ संचित । जगेडा कोषका आधारमा सोनापुर भने निकै कमजोर देखिएको छ । सोनापुरको कुल जेगडा कोषमा २ अर्ब ३० करोड रुपैयाँ मात्रै संचित छ ।

संचालन आम्दानी : संचालन आम्दानीमा पनि शिवम् निकै अगाडि रहेको छ । चालु आवको ५ महिनामा शिवमको संचालन आम्दानी ३ अर्ब ५१ करोड रुपैयाँ छ । जबकि घोराही १ अर्ब ७१ करोड र सोनापुरको ७० करोड ५८ लाख रुपैयाँ मात्रै छ ।

ओपीसी सिमेन्ट मात्रै उत्पादन गर्दै आएको शिवम्ले ओपीसी र पीपीसी दुवै सिमेन्ट उत्पादन गर्दै आएका घोराही र सोनापुरलाई व्यापारमा निकै पछि पारेको छ ।

अन्य आम्दानी : गत वर्षको तुलनामा अन्य आम्दानी तिनै कम्पनीको घटेको छ । अर्थतन्त्रमा आएको मन्दीका कारण यी कम्पनीको लगानी रहेका अन्य कम्पनीबाट प्राप्त हुने लाभांश घट्दा अन्य आम्दानी घटेको हो । समीक्षा अवधिमा अन्य आम्दानी पनि शिवम्कै धेरै छ । पुससम्म शिवम्ले १७ करोड ५ लाख रुपैयाँ अन्य आम्दानी गरेको छ भने घोराहीले ११ लाख ७६ हजार र सोनापुरले ५ लाख २५ हजार मात्र रहेको छ ।

खुद नाफा : समीक्षा अवधिमा शिवम् सिमेन्ट मात्र नाफामा संचालनमा छ । पुससम्म शिवम्ले १४ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ । यही अवधिमा घोराही सिमेन्ट ४१ करोड ८४ लाख र सोनापुर १४ करोड ७८ लाख रुपैयाँ नोक्सानीमा छन् । शिवमको तुलनामा घोराही र सोनापुरको व्यापार कम र खर्च धेरै हुँदा दुवै घाटामा गएका हुन् ।

प्रतिसेयर आम्दानी : सेयर लगानीकर्ताले चासोमा साथ हेर्ने प्रतिसेयर आम्दानीमा पनि शिवम् नै अघि रहेको छ । समीक्षा अवधिमा शिवम्को प्रतिसेयर आम्दानी ५.९१ रुपैयाँ छ भने सोनापुर र घोराही क्रमशः ९.६२ रुपैयाँ र ९.१६ रुपैयाँ ऋणात्मक छ ।

नेटवर्थ प्रतिसेयर : नेटवर्थमा भने घोराही अघि रहेको छ । समीक्षा अवधिमा घोराहीको नेटवर्थ २२५.२५ रुपैयाँ छ भने शिवम्को १८७.६९ रुपैयाँ र सोनापुरको १७४.९८ रुपैयाँ छ ।

ऋण : समीक्षा अवधिमा सबैभन्दा धेरै ऋण घोराहीको रहेको छ । यस अवधिमा घोराहीको दीर्घकालीन ६ अर्ब १७ करोड र अल्पकालीन ३ अर्ब ८३ करोड गरी कुल १० अर्ब १ करोड रुपैयाँ ऋण रहको छ ।

त्यस्तै, सोनापुरको ३ अर्ब ४७ करोड दीर्घकालीन र १ अर्ब ८८ करोड अल्पकालीन गरी कुल ५ अर्ब ३६ करोड रुपैयाँ ऋण तिर्न बाँकी छ । अन्यको तुलनामा शिवम्को भने ऋण थोरै छ । पुससम्म शिवम् तिर्न बाँकी दीर्घकालीन ऋण ५३ लाख ६४ हजार र अल्पकाली ७० करोड १८ लाख गरी कुल ७० करोड ७२ लाख रुपैयाँ मात्रै छ ।

निष्कर्ष : वासलतका अधिकांश सूचकमा आधारमा शिवम् शिमेन्ट बलियो देखिएको छ । सोनापुर र घोराहीले तिर्नुपर्ने ऋण धेरै रहेकाले आगामी दिनमा पनि दायित्व बढ्ने हुँदा नाफा प्रभावित हुने देखिन्छ भने शिवमको ऋण कम भएकाले थोरै वित्तीय दायित्व कम छ ।

शिवम्ले आइपीओ जारी गरेदेखि वर्षेनी लाभांश दिँदै आएको छ । घोराहीले यस वर्ष १५ प्रतिशत दियो भने सोनापुरले सेयरधनीको हात रित्तै बनायो । आगामी वर्ष लाभांश बाँड्न सक्ने क्षमता घोराही र शिवम्सँग धेरै छ ।

घोराही र सोनापुरको सेयर आपूर्ति भने कम छ । शिवम्को प्रमोटरको सेयर लकिङ खुलिसकेकाले सूचीकृत सबै सेयर कारोबार योग्य छ । घोराही र सोनापुरको संस्थापक सेयर अझै २ वर्ष बढी लकिङमै रहन्छ । यस आधारमा घोराहीको ९१ लाख ३५ हजार र सोनापुरको १ करोड २३ लाख कित्ता सेयर मात्र बिक्री योग्य । सेयर संख्या कम भएकाले शिवम्को तुलनामा घोराही र सोनापुरको सेयर मूल्यमा चलखेल हुनसक्ने सम्भावना पनि देखिन्छ ।

आधारभूत वित्तीय सूचकमा शिवम् बलियो देखिन्छ । तर, नेपाली सेयर बजारका कम्पनीहरू वित्तीय सूचकका आधारमा भन्दा पनि हल्ला र चलखेलका आधारमा मूल्य बढ्ने गरेका दृष्टान्त छन् । यस्तोमा लगानीकर्ताले वित्तीय अवस्था बलियो रहेको कम्पनीको सेयरमा लगानी गर्ने कि लहडकोपछि लागेर कमजोर कम्पनीमा जोखिम मोल्ने भन्ने आफैंले विचार गर्नुपर्छ ।

 

ललिता निवास जग्गा प्रकरण : भाटभटेनीका संचालक मीनबहादुरलाई २ वर्ष कैद, ६५ जनाको जग्गा जफत हुने Read Previous

ललिता निवास जग्गा प्रकरण : भाटभटेनीका संचालक मीनबहादुरलाई २ वर्ष कैद, ६५ जनाको जग्गा जफत हुने

भवितव्य दुर्घटना राहत कोषको स्थापना गर्न यातायात व्यवसायीको माग Read Next

भवितव्य दुर्घटना राहत कोषको स्थापना गर्न यातायात व्यवसायीको माग