काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार एकैदिन ३० अंकले घटेर बुधबार ५ अंकले बढेको नेप्सेमा आज फेरि दोहोरो अंकको गिरावट आएको हो ।
आज सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३९ करोड घटेर ३ अर्ब ८६ करोड रुपैयाँमा सीमित भएको छ ।
बिहीबार नेप्से परिसूचक १४.४६ अंकले घटेर २०६२.०३ विन्दुमा आइपुगेको छ । यसदिन ३०५ कम्पनीको १ करोड १४ लाख ७ हजार २६४ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये उत्पादनमूलक बाहेक अरु सबैको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक २.७१ प्रतिशतले घटेको छ ।
आज पनि हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको २२ करोड ८५ लाख रुपैयाँको ३ लाख ४५ हजार ५९२ कित्ता सेयर किनबेच भएको छ ।
घट्दो बजारमा पनि आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । समाज लघुवित्त र बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
आज मैलुङखोला हाइड्रोपावरका सेयरधनीले भने सर्वाधिक ५.७३ प्रतिशत गुमाएका छन् ।