काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । सोमबार १५ अंकले बढेको नेप्से आज ३० अंकले घटेको हो ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा कुनै फेरबदल नगरेपछि लगानीकर्ता निराश हुँदा बजारमा ठूलो गिरावट आएको हो ।
लगानीकर्ताले सेयर धितो कर्जाको जोरिखभार घटाउन र सेयर धितो कर्जाको सीमा हटाउन माग गरेका थिए । तर, राष्ट्र बैंकले कुनै सुनवाइ नगरी अहिलेकै व्यवस्था यथावत राखेको छ ।
आज सूचकमा उच्च गिरावट आए पनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ८ करोड रुपैयाँ बढेर ४ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।
मंगलबार नेप्से परिसूचक ३०.५६ अंकले घटेर २०७०.५९ विन्दुमा आइपुगेको छ । यसदिन ३०५ कम्पनीको १ करोड २१ लाख ६५ हजार २०२ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । विकास बैंक समूहको परिसूचक सर्वाधिक २.४० प्रतिशतले घटेको छ ।
आज पनि हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ३२ करोड ५० लाख रुपैयाँको ४ लाख ७८ हजार ५६० कित्ता सेयर किनबेच भएको छ ।
घट्दो बजारमा पनि आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । समाज लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावर र बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
आज गुराँस लघुवित्तका सेयरधनीले सर्वाधिक ९.७ प्रतिशत गुमाएका छन् ।