लक्ष्य भेटाउन नसक्ने भएपछि बजेटको आकार सवा २ खर्ब घटाइयो (पूर्णपाठ)

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको आकार घटाएको छ । यसअघि राखिएका लक्ष्य भेट्टाउन नसक्ने भएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार २ खर्ब २१ अर्ब घटाएका हुन् ।

सरकारले चालु आवको लागि कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको थियो । उक्त बजेटमा राखिएका राजस्व आम्दानी र खर्च दुवैको लक्ष्य नभेट्टाउने देखेपछि अर्थमन्त्रीले बजेटका आकार घटाएर १५ खर्ब ३० अर्ब ६६ करोड रुपैयाँमा झारेका छन् ।

अथर्मन्त्री महतले गत जेठमा ल्याइएको बजेटमा राखिएका सबै लक्ष्य भेट्टाउन मुस्किल रहेको भन्दै लक्ष्यहरु संशोधन गरेका हुन् ।

सरकारले चालु आवको बजेटमा चालुतर्फ ११ खर्ब ४१ अर्ब रुपैयाँ, पूँजीगत तर्फ ३ खर्ब २ अर्ब रुपैयाँ, वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ७ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो । सो लक्ष्य नभेट्टाउने भएपछि अर्थमन्त्री महतले संशोधन गर्दै अब चालुतर्फ १० खर्ब १३ अर्ब रुपैयाँ, पूँजीगत तर्फ २ खर्ब ५४ अर्ब रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ २ खर्ब ६८ अर्ब खर्च गर्ने लक्ष्य लक्ष्य राखेका छन् ।

उनले चालु आवको लक्ष्यको ८७.३८ प्रतिशत मात्रै खर्च हुने बताए । सुधारको प्रयास गर्दा गर्दै पनि उक्त रकम खर्च गर्न नसकिने देखिएकाले लक्ष्य घटाइएको अर्थमन्त्री महतले बताए ।

यस्तै, स्रोत व्यवस्थातर्फ राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड र आन्तरिक ऋण २ खर्ब ४० अर्ब गरी कुल १४ खर्ब ४८ अर्ब उठाउने लक्ष्य लिइएकोमा अब कुल १३ खर्ब ९ अर्ब ३० करोड ४६ लाख मात्रै उठ्ने उनको संशोधित अनुमान छ ।

उनले आन्तरिक ऋण लक्ष्य अनुसार नै उठ्ने भए पनि राजस्व संकलन घट्ने बताए । यस्तै, यसअघि अनुदानबाट ४९ अर्ब ९४ करोड प्राप्त हुने लक्ष्य राखिएकोमा अब ४० अर्ब १२ करोड ९ लाख मात्रै प्राप्त हुने अर्थमन्त्री महतले बताए ।

उनले बाह्य ऋण पनि पहिलाको लक्ष्य अनुसार नआउने बताए । यसअघि २ खर्ब १२ अर्ब ७५ करोड बाह्य ऋण लिने लक्ष्य राखिएकोमा संशोधन गरी अब १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख मात्रै प्राप्त हुने अनुमान गरिएको छ ।

 

अर्थतन्त्रले लय समात्दै छ, राजस्व सुधार्न काम हुँदैछ : अर्थमन्त्री Read Previous

अर्थतन्त्रले लय समात्दै छ, राजस्व सुधार्न काम हुँदैछ : अर्थमन्त्री

घर किन्न ग्लोबल आइएमई बैंकले ९.९९% ब्याजदरमै ऋण दिने, १२ कराेडसम्म पाइने Read Next

घर किन्न ग्लोबल आइएमई बैंकले ९.९९% ब्याजदरमै ऋण दिने, १२ कराेडसम्म पाइने