काठमाडौं । आइएमई ग्रुप अन्तर्गतका तीनसहित ४ कम्पनी नेपाल पुनर्बीमा कम्पनीबाट बाहिरिने भएको छ ।
आइएमई ग्रुप अन्तर्गत आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लिमिटेड र ग्लोबल आइएमई क्यापिटलले आफ्नो स्वामित्वमा भएको सेयर बेचेर बाहिरिन लागेका हुन् ।
त्यस्तै, हाथवे इन्भेष्टमेन्ट कम्पनीले पनि पुनर्बीमा कम्पनीमा रहेको आफ्नो स्वामित्वको सेयर बेच्ने भएको छ ।
यी कम्पनीले आफ्नो स्वामित्वमा रहेको कुल ३५ लाख ८७ हजार ४३४ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेका हुन् । जसमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको २० लाख कित्ता, आइएमई लिमिटेडले ७ लाख ५० हजार कित्ता र ग्लोबल आइएमई क्यापिटलले १ लाख ८७ हजार ४३४ कित्ता सेयर बेच्न लागेका हुन् ।
त्यसैगरी, हाथवे इन्भेस्टमेन्टले आफ्नो नाममा रहेको पुनर्बीमा कम्पनीको ६ लाख ५० हजार कित्ता सेयर बेच्ने भएको हो ।
चारै कम्पनीले लिालमीमा ल्याएको सेयरमा फागुन ८ गतेदेखि चैत १२ गतेसम्म आवेदन दिन पाइने छ । उक्त लिलामी सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीको आवेदन नपरे मात्र दोस्रो चरणमा सर्वसाधरणका लागि पुनः आवेदन खुला गरिनेछ ।
इच्छुक लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट तोकी गोप्य शिलबन्दी पेश गर्नुपर्नेछ । कम्पनीको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ नघटाइ आवेदन दिनुपर्नेछ ।
बोलपत्र काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलमा पेस गर्न सकिनेछ।