नारायणगढ-बुटवल सडक : ५ वर्षमा आधा पनि काम सकिएन, फेरि १ वर्ष म्याद थप्न माग

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तार सुरू भएको ५ वर्ष बित्दा आधा पनि काम सकिएको छैन । ठेकेदारको ढिलासुस्ति र हेलचक्र्याइँका कारण सडक विस्तारले गति लिन नसकेको हो ।

ठेक्का सम्झौता अनुसार २०७९ साउन २२ गते सम्पन्न गर्नुपर्ने यस सडक विस्तारको काम दुई पटक म्याद थप्दा पनि हालसम्म ४६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले वि.सं. २०७५ माघ २४ मा सम्झौता गरेको थियो ।

विस्तारको काम सुरू भएको ४२ महिनाभित्र काम सक्नेगरी जिम्मा पाएको कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्दा दुईपटक म्याद थपी सडक विस्तारको काम भइरहेको छ । नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले पहिलोपटक थप गरिएको समय विसं २०८० भदौ १२ मा सकिएपछि दोस्रोपटक समय थप गरेर आयोजना पूरा गर्ने समय विसं २०८१ साउन ८ मा पुर्याइएको बताए ।

‘राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सडक विस्तारको पाँच वर्ष पुग्दा हालसम्म जम्मा ४६ प्रतिशत काम सकिएको छ,’ उनले भने, ‘दोस्रोपटक म्याद थप गरेपछि निर्माण व्यवसायीले हालसम्म ५८ प्रतिशत काम गर्छौं भनेर योजना बनाएको भए पनि त्यो पूरा गर्न सकेको छैन ।’

निर्माण व्यवसायीलाई दोस्रोपटक म्याद थपिएको समय सकिने करिब पाँच महिना बाँकी हुँदा हालसम्म सडकको एकतर्फी कालोपत्रको काम २०.३८ किलोमिटर मात्रै भएको जनाउँदै खनालले दुईतर्फी कालोपत्रको काम १३० किलोमिटर गर्नुपर्ने बताए ।

‘निर्माण व्यवसायीले बनाएको कार्य योजनाअनुसार कुनै पनि काम गरेको छैन,’ उनले भने, ‘निर्माण व्यवसायीले बनाएको योजना र हामीले गर्नका लागि भनेको योजना पनि फरक छ । निर्माण व्यवसायी आफैँले बनाएको योजनाअनुसार काम गर्न सकेको छैन ।’

आवश्यकभन्दा कम कामदार र उपकरण परिचालन

ठेकेदार कम्पनीले आवश्यकभन्दा कम कामदार र उपकरण परिचालन गर्दा सडक विस्तारले गति लिन नसकेको पाइएको छ । सडक विस्तारका लागि चालकसहितका सबै कामदार गरी ६२६ जनामात्रै निर्माणमा संलग्न रहेको उनले बताए ।

‘निर्माण व्यवसायीले १ हजार ५४१ कामदार आवश्यक पर्छ भनेर भनेको थियो । तर हामीले २ हजार २०० मजदुर आवश्यक पर्ने प्रक्षेपण गरेका थियौँ,’ उनले भने, ‘आफैंले बनाएको कार्ययोजनासमेत निर्माण व्यवसायीले पूरा गर्न सकेको देखिएन ।’

सडक विस्तारका लागि योजनाले पेभर (कालोपत्र गर्ने उपकरण) दुईवटा आवश्यक पर्ने भनेकामा निर्माण व्यवसायीले एउटा उपकरणबाट मात्रै कालोपत्र गरेको, ग्रेडर (सडक सम्याउने उपकरण) योजनाले २५  आवश्यक पर्ने भनेकामा निर्माण व्यवसायीले निर्माण व्यवसायीले १६ वटाबाट काम गर्ने जनाएकामा जम्मा सातवटामात्रै ग्रेडरको प्रयोग भएको उनले बताए ।

त्यस्तै, स्काभेटर (माटो खन्ने उपकरण) ४० आवश्यक पर्नेमा निर्माण व्यवसायीले २६ वटाबाट काम गर्छौं भन्दै नौवटामात्रै प्रयोग गरेको, रोलर (कालोपत्र गर्नुअघि सडक सम्याउने उपकरण) ४५ वटा आवश्यक पर्ने भनिएकामा २६ वटाबाट काम गर्छौं भन्दै नौवटा रोलर मात्रै सडकमा प्रयोग गरेको खनालले बताए ।

ठेकेदारले आफैंले बनाएको कार्ययोजना अनुसार पनि काम गरेन

निर्माण व्यवसायीले आफैँले बनाएको योजनाअनुसार काम नगर्दा सडक विस्तारको कामले गति लिन नसकेको खनालको भनाइ छ । ‘

कार्यतालिकाअनुसार काम गर्न र आयोजनाको काम समयमै सम्पन्न गर्न हामीले निरन्तर दबाब दिइरहेका छौँ,’ उनले भने, ‘निर्माण व्यवसायीले लो बिडिङ (कम मूल्य)मा ठेक्का सकारेका कारण उसले नगद प्रवाह गर्न नसक्दा भनेअनुसार काम गर्न सकेको छैन ।’

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका ठेक्का सहव्यवस्थापक राकेश झाले दोस्रोपटक थप भएको समयमा सडक विस्तारको काम नसकिने जानकारी दिँदै अझै एक वर्ष म्याद थप्नुपर्ने बताए । ‘सडक विस्तारको सुरूआती समयमा विभिन्न कारणले काममा ढिलाइ भएको थियो, अहिले पनि मौसमका कारण सडकको काम तीव्ररुपमा गर्न सकिएको छैन,’ उनले भने, ‘कावासोती, प्रगतिनगरलगायत ठाउँमा कालोपत्र गर्न तयारी गरिएको भए पनि रातिमा शीत खस्ने र मौसम चिसो भएका कारण कालोपत्र गर्न सकिएको छैन ।’

८ साउन २०८१ सालसम्म आयोजनाको करिब ७) प्रतिशत काम पूरा गर्नेगरी आफूहरु खटिएको उनको भनाइ छ । ‘साउनसम्म हामीले गैँडाकोटबाट दाउन्नेसम्म एकतर्फी कालोपत्र गर्नेगरी काम गरिरहेका छौँ,’ उनले भने, ‘त्यसपछिको बाँकी काम ८१ चैतभित्र सकाउने हाम्रो योजना छ ।’

सडक विस्तार गर्ने केही ठाउँमा खानेपानी र बिजुलीको पोल सार्ने काम बाँकी रहेको भन्दै उनले साइड क्लियर भएको ठाउँमा काम धमाधम अघि बढेको जानकारी दिए । ‘यो फेब्रुअरीसम्म सिजी, गैँडाकोट र दुम्कीबास क्षेत्रमा ३० केभी प्रसारण लाइन सार्ने काम सकिन्छ,’ उनले भने, ‘विद्युत्को पाँच किलोमिटर पोल सार्ने र खानेपानीको ६ किलोमिटर पाइप सार्ने कामपछि सडकका सबै बाधा सकिन्छन् ।’

आयोजनाअन्तर्गत अहिले बाँकी रहेका कल्भर्ट निर्माण गर्ने, पहाडको भित्तो काट्ने, पर्खाल लगाउने, सडक किनारमा ग्याभिन भर्ने, बस वे (सवारीसाधन रोक्ने ठाउँ) बनाउने, कालोपत्र गर्ने सडक खन्ने र नयाँ बनाउने, माटो भर्ने, बेस र सब बेसको काम भइरहेको उनको भनाइ छ ।

नारायणगढबाट बुटवलसम्मको जम्मा ११४ किलोमिटर सडकमध्ये पूर्वीखण्डमा ६५ किलोमिटर सडक रहेको छ । विसं २०१८ मा गैँडाकोटको शिलान्यास चोकबाट पूर्वराजा महेन्द्रले शिलान्यास गरेको सडक करिब ५८ वर्षपछि एसियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तार भइरहेको छ ।

चार लेनमा विस्तार हुने नारायणगढ–बुटवल सडकका दुई/दुई लेनको बीचमा ‘ग्रिनरी’ सहितको सडक निर्माण हुनेछ । तीन मिटरको बीच भागमा बिरुवा लगाइनेछ । हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ सात/सात मिटरको हुनेछ । बजार क्षेत्रमा ६/६ मिटरको ‘सर्भिस लेन’ समेत निर्माण गरिनेछ । बजार क्षेत्रको १७.६ किलोमिटर सडकमा अतिरिक्त सर्भिस लेन निर्माण हुनेछ ।

सडकको ४२.७ किलोमिटर खण्ड चार लेनको हुनेछ भने दाउन्ने खण्डको करिब ५ किलोमिटर सडक तीन लेनको हुने सूचना अधिकारी खनालले बताए ।

यस खण्डमा १२ वटा ठूलो पुल (मेजर ब्रिज) र सानो २२ वटा (माइनर ब्रिज) बन्ने क्रममा छन् । सडकका विभिन्न स्थानमा निर्माण हुने २१५ वटा कल्भर्टमध्ये अधिकांशको काम सकिएको छ । एसियाली विकास बैङ्क (एडीबी)को ८५ प्रतिशत ऋण सहयोगमा निर्माण सुरू भएको यस खण्डको कुल लागत ९ अर्ब ३८ करोड रूपैयाँ रहेकामा हालसम्म ३ अर्ब ७६ करोड ६६ लाख रूपैयाँ खर्च भएको खनालले जानकारी दिए ।

नेपाल लाइफको खुद नाफा बढ्यो, रिटेन्ड अर्निङमा १ अर्ब बढी Read Previous

नेपाल लाइफको खुद नाफा बढ्यो, रिटेन्ड अर्निङमा १ अर्ब बढी

नागढुङ्गा सुरुङमार्गको 'ब्रेक थ्रु' हुन अब ३० मिटर मात्रै बाँकी Read Next

नागढुङ्गा सुरुङमार्गको 'ब्रेक थ्रु' हुन अब ३० मिटर मात्रै बाँकी