काठमाडौं । सोमबार नेपाल टेलिकमको सेयर मूल्यमा नाटकीय वृद्धि भएको छ । बजार खुलेदेखि सामान्य अंकले घट/बढ भई कारोबार भइरहेको टेलिकमको सेयर मूल्य बजार बन्द हुने अन्तिम मिनेटमा पोजेटिभ सर्किट लाग्यो । अर्थात् १० प्रतिशतले बढेर बन्द भयो ।
आइतबार प्रतिकित्ता ८६५ रुपैयाँमा काराबार बन्द भएको टेलिकमको सेयर सोमबार ८७० रुपैयाँ कारोबार खुलेको थियो । त्यसपछि घटेर ८६५.१० रुपैयाँसम्म कारोबार भएको टेलिकमको सेयर मूल्य अन्तिम मिनेटमा १० प्रतिशत अर्थात् प्रतिकित्ता ८६.५० रुपैयाँले बढेर बन्द भएको छ ।
आज कम्पनीको २० औं वार्षिकोत्सव भए पनि कम्पनीको व्यवसाय/नाफामा सकारात्मक प्रभाव पार्ने कुनै नीतिगत निर्णय भएको छैन भने कम्पनीले पनि आधिकारिक रुपमा केही घोषणा गरेको छैन् । तर, दिनभर सामान्य रहेको सेयर मूल्य अन्तिम मिनेटका एकाएक १० प्रतिशतले बढेपछि लगानीकर्ताले चलखेल भएको आशंका गरेका छन् ।
अन्तिम मिनेटमा केही हजार कित्ता सेयर मात्रै उच्च मूल्यमा कारोबार भएको हो । कम्पनीको दिनभरको औसत कारोबार मूल्य नै प्रतिकित्ता ८८३.०४ रुपैयाँ मात्रै रहेको छ । तर, अन्तिम मिनेटमा ९५१ रुपैयाँ पुगेको छ । अन्तिममा थोरै कित्ता सेयर मात्रै उच्च मूल्यमा कारोबार भएको देखाउँछ । यसले केही स्वार्थ समूहले कम्पनीको सेयर मूल्य बढाउन थोरै कित्ता मात्रै उच्च मूल्यमा कारोबार गरेको देखिन्छ ।
दिनभरमा प्राय सबै ब्रोकरबाट टेलिकमको सेयर खरिद बिक्री भएकोमा अन्तिम मिनेटमा भने एउटा ब्रोकरबाट मात्रै धेरै किनबेच भएको देखिन्छ । यसले पनि चलखेल गरी मूल्य बढाइएको शंका गर्ने ठाउँ देखिन्छ ।

नेप्सेको फ्लोरसिट अनुसार अन्तिम मिनेटमा नासा सेक्युरिटिज (ब्रोकर नम्बर ५८)मार्फत टेलिकमको धेरै सेयर खरिद भएको देखिन्छ । ब्रोकर नं. ५८ ले नै प्रतिकित्ता ८७७ रुपैयाँदेखि किन्न थालेर मूल्य बढाउँदै ९५१ रुपैयाँ पुर्याएको देखिन्छ ।
जम्मा करिब ५ हजार कित्ता सेयर कारोबार हुँदा मात्रै कम्पनीको सेयर मूल्य १० प्रतिशले बढाएको देखिन्छ । जबकि दिनभरीमा कम्पनीको ३० हजार ४६५ कित्ता सेयर किनबेच भएको छ ।
टेलिकम नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीमध्ये बजार पूँजीकरणका आधारमा सबैभन्दा ठूलो कम्पनी हो । चुक्ता पूँजीका आधारमा पनि १२ औं ठूलो कम्पनी हो ।
हाल १८ अर्ब चुक्ता पूँजी रहेको यस कम्पनीमा सर्वसाधरणको हिस्सा जम्मा ८.४७ प्रतिशत मात्रै अर्थात् १ करोड ५२ लाख ४६ हजार कित्ता सेयर छ । यही सेयर मात्रै बजारमा नियमित कारोबार हुन्छ । कम्पनीले वर्षेनी लगानीकर्तालाई बम्पर लाभांश दिँदै आएको छ । टेलकमले औसतमा वार्षिक ४० प्रतिशत लाभांश दिँदै आएको छ । जसकारण कम्पनीको सेयर प्रति लगानीकर्ताको आकर्षण देखिन्छ ।