काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले धरहरा निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिनु भ्रष्टाचारकै नयाँ प्रकृति भएको बताएका छन् ।
उनले सामाजिक संजाल फेसबुकमा निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएकोमा आक्रोश व्यक्त गरेका हुन् । गत सातादेखि महानगरपालिकाले धरहराको अन्डर ग्राउन्डमा निःशुल्क पार्किङको व्यवस्था गरेको थियो । तर, सहरी विकास मन्त्रालयले उक्त पार्किङ बन्द गर्न भन्दै पत्र लेखेपछि बालेन आक्रोशित भएका हुन् ।
‘तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उद्घाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ । संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ । निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गरौँ,’ उनले लेखेका छन् ।
उनले महानगरलाई नभई धरहरा ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्ने तत्कालीन प्रधानमन्त्री केपी ओलीलगायतलाई पत्र लेख्न उपयुक्त हुने बताए ।
‘२०७८ वैशाख ११ शनिबार अर्थात आज भन्दा २ वर्ष ९ महिना २० दिन अगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट ‘सेतो टावर ’ उदघाटन भयो । सोही उद्घाटनलाई काठमाण्डौँका तत्कालिन मेयर बिद्यासुन्दर शाक्यले भन्नुभएको थियो, ‘आज एक ऐतिहासिक काम सम्पन्न भएको छ , राणाकालीन अवस्थामा भएको भए केपि ओलि टावर भन्थे । तर केही दिन अगाडि त्यही ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, धरहरा निर्माण हुँदैछ । पार्किङ बन्द गर्नु । उद्घाटन गरेको २ वर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ?,’ उनले फेसबुकमा लेखेका छन ।
उनले सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगर्न आग्रह समेत गरेका छन् ।
‘सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन । महानगरको पहलमा अहिलेको लागि निःशुल्क सन्चालन हुँदै छ , अझै व्यवस्थापन गर्दै लग्नेछौ ।अहिले धेरैको नजर यहाँको पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्ति माथी रजाइँ गर्ने मनसाय देखिएको छ । हामी काठमाडौं महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिने छैनौं,’ उनले भनेका छन् ।