सम्पत्ति शुद्धीकरणमा इच्छाराज तामाङलाई ३ वर्ष कैद, १ अर्ब ७२ करोड जरिवाना

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका व्यवसायी इच्छाराज तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड रुपैयाँ जरिवाना तोकेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई दोषी ठहर गर्दै उक्त फैसला सुनाएको हो ।

अदालतले आइतबार सजाय निर्धारण गर्दा पूर्वसांसद तामाङलाई ३ वर्ष कैद, बिगोवमोजिम १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ जरिवाना हुने फैसला गरेको हो ।

सिभिल सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका तामाङलाई यही माघ ७ गते अदालतले दोषी ठहर गर्दै आज सजाय निर्धारणका लागि पेशी तोकेको थियो । निजकी श्रीमती सृृजना शाक्य तामाङलाई १ वर्ष ६ महिना कैद र रु १ अर्ब तीन करोड ५४ लाख ४३ हजार ४८७ जरिवाना हुने फैसला गरेको छ ।

सोही मुद्दाका केशवलाल श्रेष्ठको १ वर्ष ६ महिना कैद र रु २५ करोड ६५ लाख ८६ हजार एक सय २४ बिगो तिर्नुपर्ने फैसला गरेको छ । अदालतले इच्छाराज तामाङ, सृृजना शाक्य तामाङ, केशवलाल श्रेष्ठ, मीना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सम्पत्ति जफत हुने फैसला गरेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष तामाङसहित निजको परिवारका छजनाविरुद्ध २०७९ साल भदौ १६ गते मुद्दा दायर गरेको थियो ।

आजदेखि संसद्को अधिवेशन सुरू हुँदै, विद्युतीय व्यापार विधेयक टेबुल गरिने Read Previous

आजदेखि संसद्को अधिवेशन सुरू हुँदै, विद्युतीय व्यापार विधेयक टेबुल गरिने

पैसा थुप्रिए पनि ऋण दिनै नसक्ने अवस्थामा आधा दर्जन बैंक, पूँजीकोष 'तगारो' Read Next

पैसा थुप्रिए पनि ऋण दिनै नसक्ने अवस्थामा आधा दर्जन बैंक, पूँजीकोष 'तगारो'