काठमाडौं । अब साहसिक खेल ‘हट एयर बेलुन’ ९ हजार फिटको उचाइसम्म उडाउन पाइने भएको छ । सरकारले नेपालको एकमात्र हट एयर बेलुन कम्पनी ‘बेलुन नेपाल’लाई जमिन सतहबाट ९ हजार फिटसम्म उडाउने अनुमति दिएको हो ।
कम्पनीले हालको भन्दा तीन गुणा बढी उचाइमा उडानको अनुमति पाएको हो । यसअघि हट एयर बेलुन ३ हजार फिटसम्म मात्र उडान गर्न पाउने व्यवस्था थियो ।
कम्पनीले हाल पोखरालाई केन्द्र बनाउँदै हट बेलुन उडान सेवा सञ्चालन गरिरहेको छ । हट एयर बेलुनले उडानको थप उचाइको अनुमति पाएसँगै अन्नपूर्ण हिमशृङ्खला, पोखरा आसपासको दृश्य र समयअनुसार सूर्योदय तथा सूर्यास्त अझ राम्रो देख्न पाउने बेलुन नेपालका अध्यक्ष विक्रम बाडे बताए ।
पोखराको लौरुकदेखि चंखपुर क्षेत्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावर फ्रिक्वेन्शी निरन्तर मनिटरिङ गरी उडान गर्न नेपाल सरकार, मन्त्रीस्तरको निर्णय अनुसार अनुमति प्रदान गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एटीसी अधिकृत मुकेशले डंगोललाई उद्धृत गर्दै कम्पनीले जनाएको छ ।
उडान स्थलको प्राविधिक जाँच र हाल उडानमा रहेको बेलुनको उत्पादक कम्पनीको फ्लाइट म्यानुअल समेतको अध्ययनपछि अनुमति प्राप्त गरेको अध्यक्ष बाडेको भनाइ छ ।
बेलुन आकारमा देखिने यसको ‘इनेभेलप’भित्र पङ्खाले हावा भरिन्छ । बेलुन आकारमा आइसकेपछि ग्यासबाट आगो बालेर उक्त हावालाई तताइन्छ । तातो हावाले बेलुनको उचाइ लिन्छ र हावाको गति नियन्त्रण गर्दै पाइलटले उडान गर्छन् ।
२१ मिटर अग्लो बेलुनको तल्लो भागमा ३२ वर्ग मिटरको बास्केट जडित छ । बास्केटमा ८ जनाले एकैपटक यात्रा गर्न सक्दछन् । सुर्योदय मन पर्नेले बिहानको उडान रोज्न सक्छन् भने सूर्यास्त मन पराउनेले साँझको । दिउँसोको समयमा हावाको गति बढी हुने भएकाले बिहान र साँझतिरको समय हट एयर बेलुनका लागि उपयुक्त मानिन्छ ।
उचाइमा उडान हुने भएकाले पन्जा र टोपीसहित न्यानो कपडा लगाउनु राम्रो हुन्छ । हिल भएको जुत्ताचप्पल भन्दा स्पोर्ट्स जुत्ता लगाउनु उत्तम हुन्छ । टाढा देखिएका दृश्य नजिकै हेर्न मन लागे दूरबिन लैजान सकिन्छ ।
क्यामेरा/मोबाइलबाट फोटो खिच्दा तल नझरोस् भनेर सावधानी अपनाउनुपर्छ । सीमित उडान हुने भएकाले पहिले नै बुकिङ गरेर जाँदा राम्रो हुन्छ ।
आधा घण्टा उडान गर्न नेपालीले प्रतिव्यक्ति ९ जहार ५०० रुपैयाँ तिर्नुपर्छ । ३ देखि ९ वर्षका बालबालिकालाई प्रतिव्यक्ति ५ हजार रुपैयाँ शुल्क कायम गरिएको छ । भारतीय तथा सार्क राष्ट्रका नागरिक र अन्य देशका नागरिकका लागि फरक शुल्क तोकिएको कम्पनीले जनाएको छ ।