काठमाडौं । आज (मंगलबार) पुनर्बीमा कम्पनीहरूकोे सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत दुवै पुनर्बीमा कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिएका हुन् ।
नेप्सेमा सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी र निजी क्षेत्रको हिमालयन रिइन्स्योरेन्स सूचीकृत छन् । आज बजार खुलेदेखि नै दुवै कम्पनीको सेयर खरिदका लागि उच्च माग छ भने मूल्य समेत उच्च अंकले बढेको छ ।
प्रतिकित्ता ७८८ रुपैयाँमा कारोबार खुलेको नेपाल पुनर्बीमाको सेयर मूल्य ९ प्रतिशतले बढेर प्रतिकित्ता ८४५ रुपैयाँसम्म पुगेको थियो भने अहिले (दिउँसो १ बजे) ८३० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, हिमालयन रिको पनि सेयर मूल्य पनि ७ प्रतिशतले बढेर कारोबार भइरहेको छ । प्रतिकित्ता मूल्य ६७२ रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य बढेर ७१६ रुपैयाँमा कारोबार भइरहेको छ । गत महिनामा मात्रै आइपीओ जारी गरेको हिमालयन रिको सेयर तीन साता यता उच्च कारोबार हुँदै आएको छ ।
दुवै कम्पनीको व्यवसाय/नाफा बढ्ने गरी कुनै नीतिगत निर्णय भएको छैन । आधिकारिक रुपमा कुनै सकारात्मक समाचार आएका छैनन् । तर, यी कम्पनीको सेयर किन्न लगानीकर्ता झुम्मिएको देखिन्छ ।
यसो हुनुको कारण भनेको बजारमा चलेको चुक्ता पूँजी वृद्धि गर्ने हल्ला हो । लगानीकर्ता माझ पुनर्बीमा कम्पनीहरुको पूँजी वृद्धि गरिँदै छ भन्ने हल्ला चलाइएकाे छ । यसअघि जीवन र निर्जीवन बीमा कम्पनीको पूँजी बढाएको नेपाल बीमा प्राधिकरणले अब पुनर्बीमा कम्पनीको पूँजी बढाउने भन्दै हल्ला चलेको छ । जसकारण लगानीकर्ता यी कम्पनीको सेयरमा झुम्मिएको लगानीकर्ताहरु नै बताउँछन् ।
यता, प्राधिकरणले भने हालसम्म पुनर्बीमा कम्पनीहरुको पूँजी वृद्धि गराउने बारे कुनै पनि आधिकारिक निर्णय गरेको छैन । तर, पूँजी वृद्धिका लागि कम्पनीहरुले अब बोनस सेयर दिने, हकप्रद सेयर निष्काशन गर्ने हल्लाका आधारमा लगानीकर्ता झुम्मिएका हुन् ।
कम्पनीहरुको आधारभूत वित्तीय अवस्था अध्ययन नगरी लगानीकर्ता हल्लाको पछि लागेको देखिन्छ । गत असार मसान्तसम्मको वित्तीय विवरण हेर्दा दुवै कम्पनीको आकर्षक लाभांश दिनसक्ने क्षमता छैन भने हकप्रद बिक्रीको लागि कुनै निर्णय नै भएको छैन ।