काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावरको अवितरित हकप्रद सेयरको लिलामी भोलि (सोमबार) बाँडफाँट हुने भएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धका अनुसार तामाकोशीको हकप्रद सोमबार बाँडफाँट गरिने भएको हो ।
कम्पनीको हकप्रद लिलामीको शिलबन्दी खोलिएको एक साता बिते पनि अन्य काम नसिकँदा हकप्रद बाँडफाँटमा केही ढिलाइ हुन गएको हो ।
कोषका अनुसार कम्पनीको ललामीमा ३० हजारभन्दा बढीले आवेदन दिएका छन् । जसबापत ७ अर्ब रुपैयाँ बढी जम्मा भएको कोषले जनाएको छ ।
कम्पनीको लिलामी सेयरको प्रारम्भिक अनुमानित कटअफ प्राइस १४६ रुपैयाँ छ । अन्तिम नतिजा आउँदा सो मूल्यमा केही घटबढ हुन सक्नेछ ।
अपर तामाकोशीले पुस १३ गतेदेखि २९ गतेसम्म १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामीमा ल्याएको थियो । कम्पनीले गत भदौमा बिक्रीमा ल्याएको १०० प्रतिशत हकप्रदमध्ये नबिकेको उक्त सेयर अहिले लिलामी मार्फत बेच्न लागेको हो ।